टुकमाया घर्ती
जाजरकोट — जाजरकोटको खलंङ्गामा एउटा अर्गानिक नास्ता पलस छ । त्यो पसलको मालिक हुन्—पूर्व संविधानसभा सदस्य रीता रावल। राजनीतिमा सक्रिय रहँदै सामाजिक योगदान दिने उनी अहिले आफ्नै घरमा खोलिएको अर्गानिक नास्ता पसलमार्फत् मनग्य आम्दानी गर्दैछिन्।
प्रत्येक बिहान रीता ५ बजे उठ्छिन्। तरकारी सिस्नु, सेल, कोदो, मकै र गहुँका उनी सेलरोटी पकाउँछिन्। चाउमिन र मःमजस्ता परिकार विस्थापित गरेर, स्थानिय स्रोतबाट तयार पारिएका परिकारलाई प्राथमिकता दिएकी छन् ।
उनको पसलमा पाईने रोटी र नास्ताहरू अरु ठाउँमा पाउन मुस्किल हुन्छ। त्यसैले यहाँ आउने हरेक मानिसलाई यसले बाँध्छ।
“मेरो लक्ष्य एउटै छ — महिला, दिदीबहिनीहरूलाई सानोतिनो आम्दानीको लागि प्रेरित गर्ने,” रीता भन्छिन्। उनी दिनहुँ ३,५०० देखि ४,००० रुपैयाँसम्म कमाउँछिन । सानो ठाउँमा यति नियमित आम्दानी धेरै नै राम्रो हो । उनले सेलरोटीलाई रु २५ मा बेच्छिन् ।
उनको सोच सरल र ठोस छ: “कुनै पनि महिला, दिदीबहिनीले दुई चार रुपैयाँ कमाउनु पर्छ भन्ने । श्रीमानको मात्र भर नपरी परिवारको खर्च आफैंले चलाउन सक्ने हुनुपर्छ।”
रीताको उदाहरणले एउटा ठूलो सन्देश दिन्छ—सानोतिनो सुरुवातले ठूलो प्रभाव पार्छ। उनी युवती, महिलाहरुलाई प्रेरित गर्छिन् कि देशका नियम बनाउनेहरूको रुपमा मात्र सीमित नहुनु; स्वरोजगार बन्नु र अरुलाई प्रेरणा दिनु पनि बराबरी योगदान हो। उनका ग्राहकहरू प्रायः यहाँको अनौठो स्वाद र स्थानीय पोषणको प्रशंसा गर्छन् ।
रीताको प्रेरणाले धेरैलाइ अगाडि बढ्न बाध्य गर्छ—त्यसैले यदि तपाईं जाजरकोटमा आउनु भयो भने, उनको सेलरोटीको स्वाद र त्यसमा सर्निएको आत्मविश्वास अनुभव गर्न नबिर्सनु होला।
राराखबर । २०८२, ९ भाद्र सोमबार