नवगायक देवराज ओली
जहाँ धेरैजसो युवाहरु आर्थिक समस्या र अभावका कारण विदेश पलायन हुन्छन्, तर जाजरकोटको नलगाड–५, मुलीका २२ वर्षीय देवराज ओलीले भने आफ्नो मनको आवाज सुनेर फरक बाटो हिँड्ने आँट गरे।
सानैदेखि उनको रगतमा संगीत बगेको थियो, र गाउँघरमा उनी ‘नलगाडको कलाकार’ भनेर चिनिन्थे।
देवराजको सांगीतिक यात्रा विद्यालयबाटै सुरु भयो। कक्षा ६ मा हुँदा उनले ‘छ भने माया छपक्कै लगाइदेउ…’ बोलको गीत गाएर विद्यालयको कार्यक्रममा प्रथम भएर सबैलाई चकित पारे।
बाल्यकालका गीतका गुरुहरू जनक केसी र गणेश केसीको प्रेरणाले उनको सपनामा थप ऊर्जा भरियो।
तर, जाजरकोटको विकटता र आर्थिक अभावले गर्दा उनको सपनाले उडान भर्न सकेन। उनी भारतसम्म पुगे, तर उनको मनमा भने सधैँ संगीत नै गुन्जिरहेको थियो।
संघर्षको यात्रा र परिवारको साथ
आर्थिक अभावले गर्दा ओलीले आफ्नो सपना समयमै पूरा गर्न सकेनन्। तर, उनी हार मान्नेवाला थिएनन्।
२०७७ सालमा प्लस टु सकेपछि स्नातक पढ्ने तयारीमा रहेका देवराजले आफ्नो जीवनलाई संगीतमा नै समर्पित गर्ने निर्णय गरे।
उनले ‘जाजरकोट घुम्न जाउँला रुकुम सल्यान हुँदै’ बोलको गीत रेकर्ड गरे । गीतको शब्द र लय आफ्नै थियो।
यो सपना पूरा गर्न उनका मामाका छोरा नवराज र दाइको छोरा हिरालालले ठुलो मद्दत गरे । चर्चित गायिका टीका पुनपनि उनलाई धेरै नै ठुलो सहयोग गरिन । पुनसँग मिलेर उनले काठमाडौंको तरंगो म्युजिक स्टुडियोमा आफ्नो पहिलो गीत रेकर्ड गराउन सफल भए।
गएको साउन महिनाको पहिलो सातातिर बजारमा आएको ‘जाजरकोट घुम्न जाउँला रुकुम सल्यान हुँदै’ बोलको गीत काठमाडौ थापाथलीस्थीत तरंगो म्युजिक स्टुडियोमा रेकर्ड गरिको थियो ।
गीत रेकर्ड गर्न र यसलाई बजारमा ल्याउन स्टुडियोका संचालक समेत रहेका रुकुम पश्चिम घर भएका चर्चित गायक जय देवकोटाको ठुलो योगदान र सहयोग गरेको नव गायक ओलीले बताए ।
उनले आफुलाई अघि बढ्नको लागि साथी आदित्य ठकुरीले पनि ठुलो सहयोग र साथ दिदै आइरहेको उल्लेक गरे ।
पहिलो गीत निकाल्न उनको ५० हजार रुपैयाँ जति खर्च भयो । टीका पुनले निशुल्क रुपमा उनको गीत गायर ठूलो सहयोग गरिन ।
चुनौतिको सामना र अडिग मन
गीत रेकर्ड भएपछि उनको अर्को चुनौती सुरु भयो— गीतको भिडियो बनाउने। जसका लागि करिब डेढ लाख रुपैयाँ लाग्ने थियो।
उनले सहयोगका लागि आफुले चुनेर पठाएका जाजरकोटका सांसद र नेताहरूलाई सम्झेर सम्पर्क गरे।
तर, कसैले झूटो आश्वासन दिएर धोका दिए, कसैले फोन नै उठाएनन्। एक जना पूर्वमन्त्रीको स्वकीय सचिवले सहयोग गर्छु भन्दै काठमाडौंमा तीन दिन कुराएर अन्तमा फोन नै नउठाउँदा उनको मन साह्रै दुख्यो।
उनलाई लाग्यो, राम्रो कामको लागि पनि नेताहरुले सहयोग गर्दा रहेनछ। तर यस्ता नकारात्मक अनुभवले पनि उनको हिम्मतलाई कम गर्न सकेन, बरु उनी अझै बलियो भए।
सफलताको नयाँ उडान
यी सबै चुनौतीहरूलाई पछाडि पार्दै देवराजको पहिलो गीत टिकटकमा भाइरल भयो । धेरैले मन पराउँदा उनको खुसीको कुनै सीमा थिएन। हजारौँ मानिसहरूले उनको गीत मन पराए।
यसले उनलाई अगाडि बढ्ने ठूलो हौसला दियो। परिवारको पूर्ण साथ र बीबीसीमा कार्यरत पत्रकार तथा सामाजिक अभियन्ता प्रकाश पन्तजस्ता केही शुभचिन्तकहरूको प्रोत्साहनले उनी अझै ऊर्जावान् बनेका छन्।
उनी भन्छन्, “यो क्षेत्र निकै चुनौतीपूर्ण रहेछ, तर निरन्तर संघर्ष गरेपछि एक दिन सफलता अवश्य मिल्छ।” यो भनाइले नै उनीभित्रको अडिग आत्मविश्वास र दृढ संकल्पलाई झल्काउँछ।
नव सर्जक देवराज ओलीको संघर्ष एउटा सानो ठाउँबाट ठूलो सपना देख्ने र त्यसलाई पूरा गर्न निरन्तर संघर्ष गर्ने हरेक व्यक्ति र युवाको लागि प्रेरणा हो।
उनको पहिलो सिर्जना ‘जाजरकोट घुम्न जाउँला रुकुम सल्यान हुँदै’ बोलको गीतको भडियो लिङ्क
राराखबर । २०८२, ६ भाद्र शुक्रबार