वातावरणको प्रमाणिकरण सभा

पौष १३, सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाको सत्रौं वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सुर्खेत, दैलख, सल्यान र जाजरकोटमा रहेका संस्थाका १२ वटा शाखा र बचत तथा ऋण कार्यक्रम समेत गरी १३ वटा साधारणसभा सम्पन्न गरेर उक्त १३ वटै साधारणसभाबाट पारित भएका निर्णयहरुलाई प्रमाणिकरण सभा मार्फत प्रमाणित गरेर संस्थाले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।


प्रमाणिकरण सभाले संस्थाको चालु आ.व.२०७६÷०७७ को ७ अरव ९३ करोड १७ लाख ७० हजार ८ सय ३७ रुपैयाँ १० पैसाको संशोधित र आगामी आ.व. २०७७÷०७८ को १० अरव ५८ करोड ४१ लाख २५ हजार ५ सय ३ रुपैयाँ १० पैसाको प्रस्तावित बजेटलाई समेत स्वीकृत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी संघका संचालक सदस्य पदम दाहाले वातावरणले चुनौतिका साथ राज्यको समेत पहुँच नपुगेको क्षेत्रमा गएर प्रभावकारी किसिमले वित्तीय लगायतका सामाजिक सेवाका क्रियाकलापहरु संचालन गरेको बताउँदै आगामी दिनमा कर्णाली प्रदेशका अझ दुर्गम दुर्गम बस्तीहरुमा पुग्न अनुरोध गर्नुभयो ।
संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मी, जिल्ला सहकारी संघ, सुर्खेतका सचिव रविन्द्र शाह लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
त्यसैगरी सोही अवसरमा आ.व. २०७५÷०७६ को अवधिमा उत्कृष्टता हासिल गर्ने संस्थाका उत्कृष्ट ५ जना कर्मचारीहरुलाई नगद तथा प्रमाण पत्रका साथ पुरस्कृत समेत गरिएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया