सुर्खेत – कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आगामी फागुन २१ गते हुने आम निर्वाचन लोकतन्त्र र संविधान बचाउने निर्णायक अवसर भएको बताउनुभएको छ।
मंगलबार एक ‘अपिल’ जारी गर्दै उहाँले मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षाका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभएको हो।
”लोकतन्त्रलाई लयमा फर्काउने निर्वाचन”
पूर्व मुख्यमन्त्री शाहीले नेपालको संविधान २०७२ ले दिएका अधिकारहरू खोसिएको र लोकतन्त्र संकटमा परेको उल्लेख गर्दै भन्नुभएको छ— “यो निर्वाचनमार्फत हरण भएको लोकतन्त्र र लोकतान्त्रिक पद्धतिलाई पुनः लयमा फर्काउनु पर्नेछ।”
उहाँले यसपटकको चुनावको सान्दर्भिकता र महत्व विगतका निर्वाचनहरूभन्दा बढी रहेकोमा जोड दिनुभएको छ।
कांग्रेसको एजेण्डा: विकास र सुशासन
अपीलमा भनिएको छ कि राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानबाट प्राप्त संघीयता र समावेशितालाई संस्थागत गर्नु कांग्रेसको मुख्य लक्ष्य हो।
शाहीले जनताको विकास, सुशासन, शान्ति र स्थायित्वको आकांक्षा पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो।
युवा र ‘जेन-जी’ पुस्तालाई विशेष आग्रह
संसदीय दलका नेता शाहीले विशेषगरी ‘जेन-जी’ पुस्ताका युवा विद्यार्थीहरूलाई देशको भविष्य र लोकतन्त्रको रक्षाका लागि सचेत भएर मतदान गर्न आग्रह गर्नुभएको छ।
उहाँले सबै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो मताधिकारको सही सदुपयोग गर्न पनि अनुरोध गर्नु भएको छ।

राराखबर । २०८२, १४ माघ बुधबार