मतदान केन्द्र केन्द्रित अभियानमा जुट्न एमाले सचिव कँडेलको निर्देशन

सुर्खेत – नेकपा एमालेका सचिव यामलाल कँडेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका केन्द्रदेखि टोल तहसम्मका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मतदान केन्द्रमै केन्द्रित भएर अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
आज प्रतिनिधि सभा क्षेत्र नं. १ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिव कँडेलले परम्परागत भीडभाड र ठूला सभामुखी अभियानभन्दा योजनाबद्ध, लक्ष्यित र मतदाता केन्द्रित रणनीतिमा जानुपर्ने आवश्यकता औंल्याए।

उनले मतदाता नामावली रहेका स्थानमा केन्द्रित भई घरदैलो अभियानमार्फत पार्टीका नीति, विचार र कार्यक्रम प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन निर्देशन दिए।
“अब नेतृत्वको मूल्यांकन प्राप्त मतकै आधारमा हुनेछ, त्यसैले प्रत्येक कार्यकर्ता आफ्नो जिम्मेवारीप्रति सजग हुनुपर्छ,” उनले भने।

संगठन मजबुत बनाउन व्यक्तिभन्दा कमिटी प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अनुशासन, एकता र सक्रियता नै विजयको आधार भएको बताए।
यो चुनाव कुनै एक उम्मेदवारको मात्र नभई पार्टी, विचार र सिद्धान्तको भएको उल्लेख गर्दै सचिव कँडेलले सबै तहका कार्यकर्तालाई एकताबद्ध भएर मैदानमा उत्रन आग्रह गरे।

उम्मेदवार उपस्थित नभएको अवस्थामा पनि कार्यकर्ताले वडामै बसेर संगठन विस्तार, मतदाता भेटघाट र संवादलाई निरन्तरता दिनुपर्ने उनले स्पष्ट पारे।


“यो दलिय चुनाव हो, समाजसेवाको भावना लिएर जनताको घरदैलोमा जानुपर्छ,” उनले भने। पालिका, वडा र टोल नछाड्ने गरी मतदान केन्द्रमै बसेर अभियान सञ्चालन गर्न निर्देशन दिँदै उनले संगठन सुदृढीकरण नै जितको मुख्य आधार हुने विश्वास व्यक्त गरे।
भेलामा सहभागी कार्यकर्तालाई उत्साहका साथ निर्वाचन अभियानमा जुट्न आह्वान गर्दै सचिव कँडेलले सबै मिलेर अघि बढे विजय सुनिश्चित हुने दाबी गरे।




फेसबुकबाट तपाईको प्रतिक्रिया