जाजरकोट २६, साउन ।
जिल्ला प्रशासन कार्यालयले एक ब्यक्तिलाई कानुन विपरित नागरिकता उपलब्ध गराएको खुलेको छ । प्रशासनले जाजरकोट जिल्लामा बसोबास तथा बंशजको नाता सम्बन्ध कुनैपनि नभएका दाङ्ग घर वताउने कमललाई नागरिकताको प्रमाण पत्र दिएको हो ।
जिल्ला प्रशासनले नलगाड नगरपालिका वडा नं.-२ का वडाअध्यक्ष राम कुमार जैसीको सिफारिसमा उक्त नागरिकता उपलब्ध गराएको पाइएको छ । जैसीले मिलोमतो गरी फर्जी कागज बनाई नागरिकताको सिफारिस गरेको खुलेको हो ।
वडाअध्यक्ष जैसीले नलगाड – २ का चंखे पुनलाई बाबु बनाई कमललाई नागरिक दिलाउन सिफारिस गरेका हुन् । नलगाड २, चंखे पुनका १ मात्र सन्तान छन् । चंखेकी पत्नि कौशिला पुन हुन् ।
कमलले मिति २०७६।०६।२६ गते झुट्टो विवरण पेश गरी बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकता लिएका हुन् । उनको नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकतामा नागरिकता प्रमाण पत्र नं.०६२–०१७५–०२१३३ र जन्म मिति २०२९।०१।०२ रहेको छ ।
कमल भन्ने कमल पुन विगत ५/६ बर्षदेखि ब्यापारको सिलसिलामा नलगाड ५, कालीमाठीमा बस्दै आएका छन् । कमलले यस अघि दाङ्ग जिल्लामा घर भएको वताउदै आएको स्थानीय लवकुश वलीले वताए । नागरिकता पाउनु अघि कमलले आफ्नो नाम कमल पुन नभनी कमल मात्र भन्ने गरेका थिए ।
‘नलगाड –२ मा कमलको बंशज तथा नाता सम्बन्ध कुनैपनि नरहेकाले उक्त वडाबाट के कसरी नागरिकता बन्यो,’ वलीले भने । कमलले नलगाड नगरपालिका वडानं.२ बाट नागरिकताको प्रमाण पत्र पाएपनि गाउमा खैलावैला मच्चिएको छ । झुट्टा विवरण पेश गरी नागरिकता लिएका कमल हाल नलगाड ५, कालीमाठीमा धुम्ती पसल गर्दै आएका छन् । प्रशासनले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी ललित कसमार बस्नेतले बताए ।
वडा कार्यालयको मुचुल्का, सिफारिस, बाबु÷आमाको सनाखत लगायत कागजातका आधरामा नागरिकता वितरण गर्ने गरेको उनले वताए । झुट्टो विवरण पेश गरेर नागरिकता लिने पक्षलाई कानुन बमोजिम कारबाही गरीने प्रजिअ बस्नेतले वताए । कान्तिपुरबाट
राराखबर । २०७६, २६ श्रावण आईतवार