बीबीसी सम्वाददाता प्रकाश पन्तलाई ५० हजार राशीको ‘ उत्कृष्ट पत्रकारिता पुरस्कार’

निश्पक्ष, निर्भिक, निस्कलंकित, जिम्मेवारपूर्ण र इमानदारीतापूर्वक अघि बढने थप हौसला र साहस

सुर्खेत

५० हजार राशीको ‘कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’ बीबीसी नेपाली सेवामा कार्यरत संचारकर्मी प्रकाश पन्तले पाएका छन् ।

दुई दशकदेखि सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका उनलाई प्रदेश सरकारले ‘कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत र सम्मानित गरेको हो ।

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री यामलाल कडेलले पन्तलाई पुरस्कारसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

पुरस्कृत भएपछि पन्तले सामाजिक संजाल फेसवुकमा लेखेका छन,  ५० हजार राशीको ‘कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’ पाउँदा धेरै नै खुशी र गर्वको अनुभूति भएको छ ।

मेरो दुई दशकको पत्रकारिता पेशाको उच्च मूल्याङ्कन गर्दै पुरस्कार र सम्मान दिने कर्णाली प्रदेश सरकारलाई हृदयदेखि नै आभार र धन्यवाद व्यक्त गर्दछु ।

उनले भनेका छन, यो पुरस्कार र सम्मानले मलाई अझ निश्पक्ष, निर्भिक, निस्कलंकित, जिम्मेवारपूर्ण र इमानदारीतापूर्वक अघि बढने थप हौसला र साहस दिएको छ ।

कर्णालीबासीको आवाजलाई संचारभरी पुर्याउने सौभाग्य दिने म आवद्ध संचार माध्यम BBC News नेपाल प्रति धेरै नै आभारी छु ।

 

पुरस्कार नपाएका साथीहरुलाई उनले भनेका छन,  जो पुरस्कारको लागि योग्य हुँदाहुदै पनि यसपाली छुटनु भयो । धैर्य गर्नु होला, आगामी वर्षहरुमा तपाईहरुको पनि पालो पक्कै आउने छ भन्ने पूर्ण विस्वास र भरोसा लिएको छु ।

उनले पुरस्कार र सम्मानको लागि आ आफ्नो ठाउँबाट रचनात्मक साथ र सहयोग गर्नु हुने सम्पूर्ण शुभचिन्तकप्रति आभार समेत व्यक्त गरेका छन् ।

उनीसँगै कालिकोटका प्रेमराज सिंम्खडाले ७५ हजार राशिको  कर्णाली प्रादेशिक पुरस्कार, ३५ हजार पुरस्कार राशीको कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोट, कर्णाली विकास पत्रकारिता पुरस्कार हुम्लाका राजन रावत, ओम शाही ठकुरी सुर्खेत तथा कर्णाली समावेशी पत्रकारिता पुरस्कार सृजना बुढाथोकी र जुम्लाका नौरते नेपालीले पाएका छन् ।

बीबीसीका सुर्खेत सम्वाददाता पन्त पत्रकारितासँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।

उनीसँग अडियो, भिडियो र प्रिन्ट तीनवटै संचारका माध्यममा काम गरेको अनुभव छ ।

२०५९ सालबाट जनमञ्च साप्ताहिक पत्रिकादेखि पत्रकारिताको यात्रा सुरु गरेका पन्तले  नेपाल समाचारपत्र दैनिक, रेडियो भेरी, उज्यालो नेटवर्क (कायाकैरन), एभिज्यूज टेलिभिजन, हिमालयन टेलिभिजनजस्ता नेपालका प्रतिष्ठित संचार माध्यममा काम गरेको अनुभव उनीसँग छ ।

यसअघि पनि उनले संचार माध्यमसँग सम्वन्धीत विभिन्न पुरस्कार र सम्मानहरु पनि प्राप्त गरेका छन् ।

द्वन्द्व तथा शान्ति अध्ययन विषयमा  मध्यपश्चिम विश्विवधालयबाट स्नातकोत्तर गरेका उनले गाउँकै विद्यालयबाट एसएलसी र सदरमुकाम खल‌गाको विधालयबाट प्लस गरेका थिए ।

जाजरकोटको नलगाड घर भएका उनी दुई दशकदेखि सुर्खेतको बीरेन्द्रनगरमा बसेर पत्रकारितासँगै समाजसेवा गरिरहेका छन् ।

पत्रकार पन्तकै पहल र सक्रियतामा जाजरकोटका विभिन्न गाउँमा भएका दर्जनै निशुल्क स्वास्थ्य शिविरहरुमा दशैँहजार मानिसहरुले सेवा लिइरहेका छन् ।

उनकै कारण सयौँ विरामीले पुर्नजीवन पनि पाएका छन् ।

स्वास्थ्य सेवावाहेक अरु क्षेत्रमा समेत गाउँबासीलाई सक्दो सहयोग र साथ दिदै आएका उनी आफ्नो गाउँ ठाउँको विकास र प्रगतिको लागि पनि त्यतिकै सक्रिय देखिन्छन् ।

समस्यामा परेका विरामीदेखि विद्यार्थी र अन्य सर्वसाधारणलाई सहयोग उनले निरन्तर रुपमा सहयोग गरिरहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया