डाक्टर छाडेर धामीको भरमा

Dhmai-Jhankriजाजरकोट, २ भदौ ।

सक्ला–१ जाजरकोटका पदमबहादुर खत्रीकी श्रीमती राधिका खत्री ढाड र पेट दुखेर हैरान भएपछि उनले धामीकहाँ गएर श्रीमती निको पार्ने जुक्ति निकाले।

जतिसुकै धामी, झाँक्रीलाई देखाए पनि पदमकी श्रीमतीको दुःखाई थोरै पनि कम भएन, बरु बढी दुःखाई बढ्यो । उनले श्रीमतीका लागि दर्जन बढी बोका, कुखुरा देवीदेवतालाई चढाए । राधिकाको समस्या बढ्दै गएपछि उनले एकदिन दिल्लीस्थित स्वास्थ्य संस्थामा ल्याएर भिडियो एक्स–रे गर्दा मिर्गौलामा पत्थरी भएको खुल्यो ।

त्यस्तै दह गाविस वडा नम्बर ५ का धनबहादुर पुन पेसाले शिक्षक हुन् ।  तर उनी आफैँ बिरामी हुँदा धामी, झाँक्रीसमक्ष शरणमा परे ।

करिब दुई महिनासम्म समस्या समाधान नभएपछि रुकुमको चौरजहारीमा मिसन अस्पतालमा आउँदा मिर्गौलामा पत्थरी भएको पुष्टि भएपछि नेपालगन्ज गएर शल्यक्रियापछि अहिले विद्यालय जाने र आउने काम भइरहेको छ ।

सक्ला–१ कै डबलबहादुर खत्रीको श्रीमती धनकुमारी खत्रीलाई पेट दुख्ने समस्या हुँदाहुँदै धामीकै शरणमा पुग्दा मृत्यु भयो ।

त्यस्तै खगेनकोट वडा नम्बर ६ का ग्वामे नेपालीको पेट दुख्यो भनी कराउँदा कराउँदै धामीकै शरणमा पुर्याउँदा ४३ वर्षकै उमेरमा मृत्यु भयो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् ।

यहाँका अधिकांश ग्रामीण क्षेत्रका स्थानीयवासी स्वास्थ्य संस्थाभन्दा पहिला धामी, झाँकीको शरणमा जाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको छ ।

भूतप्रेत, देवीदेवता लागेको भनी लगत प्रचार गर्दा यहाँका मानिस अकालमै मृत्युको सिकार बन्नुपरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

देवीदेवता, बोक्सीलगायतको उपचारका लागि भन्दै हजारौँ रुपैयाँ खर्चेपछि मात्र अन्त्यमा औषधि पसलमा गएर कडा डोजका औषधि खुवाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्

स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा जाँदा रोग नै पत्ता नलागी जथाभावी औषधि सेवन गर्न लगाउँदा समस्या चरमोत्कर्षमा पुगेपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने चलनको सिकारमा यहाँका स्थानीयवासी परेका छन् ।

औषधि बिक्री गर्न स्थापना गरेका औषधि पसल नै बिरामीको अन्धाधुन्ध उपचार गर्ने विज्ञ डाक्टर बन्दा थप बिरामी समस्यामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र औषधि पसलबाट नै औषधि खरीद गर्नुपर्ने भएकाले पनि सरकारी स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा मानिसको ध्यान गएको छ ।

जाजरकोटका अधिकांश गाउँ विकट ठाउँमा भएका कारण सञ्चारमाध्यमको उपयोग न्यून रहेको छ ।

दर्जन बढी गाउँमा त अहिलेसम्म फोनले काम नै गर्दैन । गाउँमा मानिस भिरबाट लडेर घाइते भए पनि अस्पताल जानुको साटो धामीकहाँ पुर्याउँदा निकै समस्या हुने गरेको छ ।

पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुनु अर्को समस्या हो । स्वास्थ्य संस्थाको सङ्ख्या थप्नुका साथै सबै ठाउँमा सडक सञ्जालले छोएमा यहाँका स्थानीयवासीको स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्ने देखिन्छ । अनलाइन खवरवाट




फेसबुकबाट तपाईको प्रतिक्रिया