आकाश तारा बयक
सुर्खेत, १२ पुस ।
सुर्खेतमा बढेको अवैध काठ ओसार पसारमा संलग्न केही व्यक्तिहरु समातिए पनि तस्करको ‘ठूलो गिरोह’ भने अझै कानूनी फन्दामा पर्न सकेको छैन । उपत्यका कै सामुदायिक वनबाट अवैध रुपमा काठ कटान तथा तस्करीका घटनाहरु बेलाबेला सार्वजनिक भएपनि पूर्णरुपले रोकिएको छैन । काठ तस्करीमा संलग्न गिरोह पक्राउ नपर्नाले कतै ‘ठूलै साँठगाँठ’ र ‘संरक्षण’ त छैन भन्ने शंका उब्जाएको छ । उसो त वन कार्यालय स्रोतले समेत पक्राउ परेका तस्करले खुलाउन नचाहेपनि उनीहरुलाई कुनै न कुनै किसिमको संरक्षण र साँठगाँठ हुनसक्ने अनुमान गरेको छ । तस्करको गिरोह छिट्टै पक्राउ पर्ने कार्यालयको दावी छ ।
सदरमुकाम वीरेन्द्रनगरमा बढ्दो शहरीकरणसँगै दिनप्रतिदिन बन्दै गरेका नयाँ घरहरुलाई चाहिने आवश्यक काठ धेरैजसो अवैधानिक नै हुने गरेको स्रोत बताउँछ । देशको अस्थिर राजनीतिको फाईदा उठाउँदै फितलो कानून व्यवस्थाको आडमा वन माफियाहरुले उन्मुक्ति पाईरहेका छन् । तस्करमा संलग्नहरु सामान्य धरौटीमा छुट्नुले पनि यसलाई पुष्टि गर्छ । वन समूहका पदाधिकारीकै मिलेमतोमा तस्करले सामुदायिक वनका हरिया रुख काटेर तस्करी गर्दै आईरहेको पाइन्छ । कार्यक्षेत्रमा खटिएका वन कर्मचारीले तस्करबाट ‘रकम’ लिएर काठ कटान गरेको नदेखेझैं गर्नाले तस्करले निर्वाधरुपमा काठ तस्करी गरिरहेको उपभोक्ता बताउँछन् । तर, जिल्ला वन अधिकृत हेमराज विष्टले भने यसमा अहिले कर्मचारीको कुनै संलग्नता नभएको बताए । यो भन्दा पहिलेका केही घटनामा संलग्नलाई विभागिय कारवाही भईसकेको उनको भनाई छ ।
सदरमुकाम आसपासका विभिन्न सामुदायिक वन लगायत लेखपराजुल, कुनाथरीको बड्डीचौर, लेखगाउँ, पोखरीकाँडा, विजौरा, लगाम, बेतान, घाटगाउँ, तातापानी, बाबियाचौर, सालकोट लगायतका जंगलबाट बढी काठ तस्करी भइरहेको छ । वन कार्यालयले काठ तस्करी गर्ने माथि जति कडाई गरेपनि जिल्लाका विभिन्न वनबाट काठ कटान र चोरी तस्करी रोकिएको छैन् । जिल्ला वन कार्यालयका अनुसार पछिल्लो ६ महिना यता अवैध काठ चोरीनिकासीमा संलग्न १३ जनालाई मात्र पक्राउ गरेको छ । अहिलेसम्म १३ जना तस्कर पक्राउ परेपनि दुई साता अघि पक्राउ परेका ७ जना महिलाबाहेक सबै छुटिसकेका छन् ।
जिल्लामा काठ तस्करीमा पक्राउ परेपनि धरौटीमा रिहा हुने चलन छ । सीमित स्रोत साधनका वावजुद कार्यालयले गत वर्ष धेरै ठूला–साना तस्करहरुलाई पक्राउ गरेको भएपनि अदालतबाट धरौटीमा रिहा हुँदै आएका छन् । सामुदायिक वनमा वैधानिक रुपले रुख काट्न नपाएपछि लुकिछिपी रुख काटेर तस्करी गरिरहेको स्थानीय बासिन्दा बताउँछन् । वन कार्यालयले काठ तस्कर माथि कडाई गरेपनि त्यस्को प्रतिफल सन्तोषजनक नरहेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको ठहर छ । मञ्चका कोषाध्यक्ष लक्ष्मी ओलीले वन कार्यालयद्वारा काठ तस्करी गर्ने मुख्य नाइकेलाई पक्राउ नगरी भरिया मात्र पक्रिनुले शंका उत्पन्न गरेको बताईन् । ‘सधै भरिया मात्रै पक्राउ पर्ने तर तस्करको मुख्य नाइके बच्ने गरेपछि वन कार्यालयको गतिविधि सशंकित हुनु स्वाभाविकै हो,’ उनले भनिन् ।
जिल्ला वन कार्यालयले गएको एक वर्षमा काठ ओसारपसार गर्ने ७० जना विरुद्ध मुद्दा चलाएको छ । पाँच सय क्यूफिट अवैद्य काठ पनि बरामद गरेको छ । तर, पक्राउ परेर मुद्दा चलाइएकाहरु सबै भरियाका रुपमा प्रयोग भएको पाइएको वन कार्यालयको भनाइ छ । ‘पछिल्लो एक वर्ष यताको तथ्याङक हेर्दा जो पक्राउ परेका छन् ती सबै ज्याला पाइने लोभमा जोखिम मोल्नेहरु मात्रै हुन्,’ जिल्ला वन अधिकृत विष्टले भने, ‘वन कार्यालयको पछिल्लो अनुसन्धान र निगरानीले पक्राउ पर्ने तस्कर नभई भरिया मात्र रहेछन् ।’ अब छिट्टै सुर्खेतमा काठ तस्करको सञ्जाल नै तोडिने उनको भनाइ छ । उनले काठ तस्कर जतिसुकै शक्तिशाली भएपनि छिट्टै कानूनी दायरामा ल्याएरै छाड्ने बताए ।
राराखबर । २०७३, १२ पुष मंगलवार