बारेकोटका पर्यटकीय क्षेत्र ओझेलमा

बद्री पन्त
जाजरकोट
जाजरकोटको उत्तर पूर्वी क्षेत्रमा रहेका आकर्षक पर्यटकीय गन्तव्य उचित प्रचारको अभावमा ओझेलमा परेका छन् ।
फट्टफुट्ट मात्र पर्यटक पुग्ने धेरै क्षेत्रको उचित व्यवस्थापन सहित प्रचार गर्न सके पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जन बढ्ने अपेक्षा गरिएको छ ।
बारेकोटको ४ हजार ४ सय ४६ मिटरको उचाइ साईकुवारी क्षेत्रमा रहेको शंख दह पर्यटनका लागि उपयुक्त ठाउँ भएर पनि प्रचारप्रसार अभावमा रहेको छ । यस्ता दर्जनौं तालहरु पनि ओझेलमा छन ।


धेरै पर्यटकीय क्षेत्र उचित प्रचार र भौतिक प्रर्वाधार नवन्दा आकर्षक गन्तव्य वन्न सकेका छैनन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने धेरै गन्तव्य भएपनि तिनीहरुको पहिचान र प्रचार नहुँदा ओझेलमा परेका छन् ।
जाजरकोट, जुम्ला र डोल्पाको सिमाना क्षेत्रमा रहेका चाँखुरे हिमाल, कराइ चुला हिमाल, चाँखुरे पाटन, शंक दह, कुुकुर दह, लगाएत दर्जनौ पर्यटकीय क्षेत्र आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छन ।


जिल्लाको उत्तर पूर्वी क्षेत्रमा अझै धेरै मन लोभ्याउने गन्तव्य छन् । छुट्टै प्राकृतिक छटा र सुन्दर मोहले भरीपूर्ण क्षेत्रको प्रचारप्रसार, संरक्षण एवं सम्वद्र्धन हुन नसक्दा अस्तित्व नै लोप हुने अवस्थामा पुगेका छन् ।
भौगोलिक विकटताका कारण सरोकारवालाको आँखामा पर्न नसक्नु यस्ता क्षेत्रको प्रमुख विडम्वना भएको बारेकोट ४ जिरीका भीमबहादुर सिंहले बताउनु भयो ।
सडक, सञ्चारलगायत असुविधाका कारण प्राकृतिक तथा सांस्कृतिक सम्पदा ओझेलमा परेका छन, सिंहको भनाइ छ ।
धार्मिक दृष्टिले महत्वपूर्ण मानिदै गएका क्षेत्रको संरक्षण सम्वद्र्धन गर्न स्थानीय सरकारले पहल थालेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
यस्ता क्षेत्रको संरक्षण सम्वद्र्धन तथा व्यवस्थापनमा सरोकारवालाले ध्यान पुराउन सके धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।
पर्यटकलाई आकर्षित गर्ने कुनै प्याकेज नहुँदा र सडक यातायातको भरपर्दो व्यवस्था नहुँदा पर्यटकीय स्थलमा आन्तरीक तथा बाह्य पर्यटकको आगागमन शून्य छ ।
यसतर्फ सरोकारवालाले उचित ध्यान दिन जरुरी छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया