कर्णालीमा २८ प्रतिशत रोपाइँ

सुर्खेत

कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

कृषि विकास निर्देशक  चित्रबहादुर रोकायाले सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको  बताए । उनका अनुसार  सुर्खेतमा ३  र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ ।  यो अवधिसम्म प्रदेशभर २८ प्रतिशत हाराहारी मात्रै रोपाइँ भएको छ ।

कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष झण्डै ५० प्रतिशत रोपाइँ सम्पन्न भएको दैलेखमा यो पटक जम्मा १५ प्रतिशत रोपाइँ भएको  छ ।

यस्तै जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४५ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए । जुम्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुन्छ । झण्डै २९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जुम्लाका अधिकांश ठाउँमा मार्सी धान रोपिन्छ ।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशक  राेकायले बताए ।  मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको पनि उनले बताए ।  सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैनन् ।

कर्णालीको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ ।

खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । अहिलेसम्म कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको प्रदेश कृर्षी निर्देशनालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिंचाई सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिंचाई सुविधा छ ।

उनका अनुसार ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । कर्णाली प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठुलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ ।

यसैवीच धान दिवसको अवसरमा मनिकापुरमा धान रोपेर मनाइएको छ । कार्यक्रममा कर्णाली प्रदेशका कृषि मन्त्री लगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया