प्रदीप ओलीको नेतृत्वमा नयाँ दल गठन

काठमाडौं। संघीय प्रणालीको खारेजीको उद्देश्यसहित प्रदीप  ओलीको अध्यक्षतामा ‘हामी नेपाली हाम्रो नेपाल’ पार्टी घोषणा गरिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालको अस्तित्व र पहिचान कायम राख्ने उद्देश्यले पार्टीको स्थापना गरिएको जानकारी दिइएको हो ।

पार्टीको उपाध्यक्षमा अनिल पहाडी र प्रवक्तामा परशुराम खड्का चयन भएका छन् ।  नवगठित पार्टीको विद्यार्थी संगठन, युवा संगठन, महिला संगठन विभाग गरी तीन विभागसमेत गठन गरिएको हो ।

मौलिक राष्ट्रवाद, संघवादको अन्त्य वैज्ञानिक प्रजातान्त्रिक समाजवाद, उदारवादी अर्थतन्त्रलगायतका विचारधारा बोकेको पार्टीले वैज्ञानिक प्रजातान्त्रिक समाजवादलाई रणनीति बनाएको छ । त्यस्तै, संघवादको खारेजीलाई कार्यनीति बनाएको छ भने पार्टीले राष्ट्रवादलाई कार्यदिशाको रुपमा अघि सारेको छ ।

ऐलानी जमिनमा बसोबास गर्ने घरवारविहिन नेपालीलाई पारिवारिक संख्या अध्ययन गरी कट्टा रोपनी र विघाका आधारमा उनीहरुलाई नम्बरी जग्गा उपलब्ध गराउने पार्टीको प्रमुख उद्देश्य छ।

त्यस्तै, पार्टीले कालोबजारी, भ्रष्टाचारी र घोटाला सदाको लागि अन्त्य गर्नुपर्ने भन्दै देशमा बन्द भएका उत्पादनमूलक कलकारखानाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । देशभरका जिल्लामा सरकारी यायायात सञ्चालन गर्नुपर्ने भन्दै पार्टीले प्रत्येक विद्यालयमा टेक्नीकल प्राविधिक शिक्षा लागु गर्ने उद्देश्य लिएको छ।

प्रत्येक उमेर पुगेका महिलाहरुलाई स्यानिटाइजर प्याड तथा सुत्केरी सामाग्रीहरु निःशुल्क वितरण गर्ने र राज्य बैंक र वित्तिय संस्थाबाट प्रवाह गरिने हरेक ऋणको ब्याजदर सस्तो र सर्वसुलभ बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।

यसैगरी, देशमा भएका असमान तथा राष्ट्रघाती सन्धीहरु तत्काल खारेज गर्नुपर्ने पनि उसको माग छ । पार्टीले देशभर गरिब सहायता कोष खडा गर्नुपर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रदीप वलीले आफ्नो पार्टीले आफ्नो देशका जनताको हकहितमा, स्वाधिनताको पक्षमा काम गर्दै आएको बताए । उनले आफ्नो पार्टी देशको १२ जिल्लामा संगठन विस्तार भएको भन्दै अब देशभरि नै संगठन विस्तार गर्ने जानकारी दिए ।

उनले अहिले आफ्नो अध्ययन गर्ने उमेर भएपनि नेपालको राजनीतिक परिस्थितिले बाध्य भएर राजनीतिक रणमैदानमा उत्रिन परेको सुनाए । उनले भने,‘अब खिया लागेर मर्नै आँटेका बुढाहरुलाई स–सम्मान विदाइ गर्नुपर्छ । हामी युवाहरुले देशलाई सिंगापुर बनाउन सक्छौं।’

देशले जनताको समस्या बिर्सिएको भन्दै लाइन लागेर दैनिक विदेसिने युवाहरुलाई हेर्दा आफुलाई विरक्त लाग्ने उनको भनाइ थियो । देशले युवाहरुलाई स्वदेशमा नै राजगारीको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

आज उच्च शैक्षिक योग्यता भएपनि सक्षम व्यक्तिले काम नपाउने अवस्था रहेको उल्लेख गर्दै उनले भने,‘पावरकै भरमा शिक्षा नभएकाहरुले पनि स्थान पाउँछन् तर, सक्षम युवा फालिएर निराश भएर विदेशिन बाध्य छन् ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया