जाजरकोटलाई ‘गर्व गर्न लायक’ बनाउने कार्कीको अठोट: वार्षिक ३ हजार युवालाई रोजगारीको ग्यारेन्टी

जाजरकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राधव कार्कीले जाजरकोटको विद्यमान राजनीतिक सिन्डिकेट र पछौटेपनलाई अन्त्य गर्ने संकल्प गरेका छन् ।

कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर गरेका कार्की जिल्लाको चौतर्फी विकासका लागि २१ बुँदे सुधारको खाका (भिजन) सहित चुनावी मैदानमा उर्तिएका छन् ।

अब भाषण होइन काम, सिन्डिकेट होइन सेवा र पलायन होइन उत्पादनको राजनीति आवश्यक छ, कार्कीले भने, “जाजरकोटको भौगोलिक कठिनाइ, भोट किनबेचको संस्कृति र निर्वाचनपछि जनतालाई बिर्सिने प्रवृत्तिका कारण हाम्रो जिल्ला दशकौँदेखि पछि परेको छ।

उनले भूकम्पपछिको पुनर्निर्माणमा देखिएको अन्योलता, शिक्षा र स्वास्थ्यको जर्जर अवस्था, युवाको वैदेशिक पलायन र बढ्दो लागुऔषध दुर्व्यसनलाई जाजरकोटको मुख्य समस्याका रूपमा औँल्याएका छन् ।

सुधारका मुख्य प्राथमिकताहरू:

कार्कीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा जाजरकोटलाई ‘नेपालको नक्सामा गर्व गर्न लायक जिल्ला’ बनाउने ठोस योजनाहरू समावेश छन्:

१. शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन: प्रत्येक पालिकामा आवासीय सुविधा र डिजिटल कक्षासहितको ‘मोडेल सामुदायिक विद्यालय’ स्थापना गर्ने, विशेषज्ञ डाक्टरसहितको २४ घण्टा स्वास्थ्य सेवा सुनिश्चित गर्ने र युवाहरूका लागि मानसिक स्वास्थ्य तथा नशा नियन्त्रण केन्द्र स्थापना गर्ने उनको मुख्य एजेन्डा छ।

२. रोजगारी र कृषि क्रान्ति: ‘जाजरकोट युवा रोजगारी कार्यक्रम’ मार्फत वार्षिक ३,००० युवालाई सीप र रोजगारी दिने, ओखर, सिमी, मह र जडीबुटी जस्ता स्थानीय उत्पादनलाई ‘जाजरकोट ब्राण्ड’ बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य राखेका छन् ।

३. सुशासन र पारदर्शिता: भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै विकास बजेटको विवरण डिजिटल ड्यासबोर्डमार्फत सार्वजनिक गर्ने र प्रत्येक ३ महिनामा सांसद आफैँ उपस्थित भएर जनसुनुवाइ गर्ने प्रतिबद्धता कार्कीले गरेका छन् ।

४. पूर्वाधार र दीर्घकालीन सोच: गुणस्तरीय सडक र इन्टरनेटको पहुँच पुर्‍याउँदै आगामी दशकका लागि ‘जाजरकोट भिजन २०९०’ तयार गरी व्यवस्थित विकास गर्ने योजना उनको छ ।

“मेरो उम्मेदवारी केवल राजनीति गर्नका लागि होइन, जाजरकोटको अवस्था र इतिहास बदल्नका लागि हो,”  सामाजिक संजाल फेसवुकमार्फत कार्कीले भने , “हामीले अब पनि सही नेतृत्व रोजेनौँ भने हाम्रा सन्ततिले अझै दुःख पाउनेछन्।

त्यसैले परिवर्तनका लागि मलाई साथ दिन म सम्पूर्ण जाजरकोटी जनसमुदायमा अपिल गर्दछु।”

जाजरकोटमा पुराना दलहरूको वर्चस्व चिर्दै रास्वपाको तर्फबाट कार्कीको प्रवेशले जिल्लाको चुनावी सरगर्मी बढाएको छ।

विशेष गरी युवा र परिवर्तन चाहने मतदाताहरूमाझ कार्कीको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया