
रुकुम पश्चिम– समय बदलिएको छ, राजनीतिक समीकरणहरू फेरिएका छन् र चुनावी झण्डाहरू पनि नयाँ देखिएका छन्। तर, रुकुम पश्चिमका गाउँघर र वस्तिवस्तीहरुमा अहिले पनि एउटा नाम अझै पनि उत्तिकै बलियो गरी गुञ्जिरहेको छ – जनार्दन शर्मा।
विगतका चारवटा चुनाव (२०६५ र २०७० को संविधान सभा तथा २०७४ र २०७९ को प्रतिनिधि सभा) मा भारी मतान्तरले विजयी भएका शर्मा यसपटक फरक परिस्थितिमा चुनावी मैदानमा छन्।
नेकपा माओवादी केन्द्रसहितका दलहरू मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’प्रति असन्तुष्टि जनाउँदै उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) दर्ता गरी चुनावी यात्रा सुरु गरेका छन्।
पार्टी भन्दा माथि ‘काम’को राजनीति
धेरैजसो पुराना सहकर्मी र नेता कार्यकर्ताहरू नेकपातिरै लागे पनि रुकुमका आम मतदाताको मनमा भने शर्माको स्थान अझै सुरक्षित देखिन्छ।
यसको प्रमुख कारण हो- उनले रुकुमको भूगोलमा कोरेको विकासको रेखा। गाउँबस्तीमा पुगेका सडक, खानेपानीका धारा, विद्यालयका पक्की भवन र स्वास्थ्य सेवामा भएको सुधारलाई रुकुमेली जनताले बिर्सन सकेका छैनन्।
“उहाँ मन्त्री वा सांसद मात्र हुनुभएन, रुकुमको मुहार फेर्ने इन्जिनियर बन्नुभयो,” एक स्थानीय मतदाता भन्छन्, “हाम्रो लागि विचार र सिद्धान्त भन्दा पनि हाम्रो दुख बुझ्ने र विकास ल्याउने मान्छे ठुलो हो।”
किन बलिया छन शर्मा
चुनावी मैदानमा उत्रिएका अन्य दलका उम्मेदवारहरू जनार्दनकै छत्रछायामा हुर्केका र उनकै स्कुलिङबाट आएका नेताहरू हुन्।
त्यसैले पनि मतदाताका नजरमा शर्माको कद अन्य प्रतिस्पर्धीको तुलनामा धेरै माथि देखिन्छ। रुकुममा जनार्दन शर्माको जीत सुनिश्चित हुनुका पछाडि मुख्य ५ आधारहरू देखिन्छन्:
अतुलनीय विकासको जग: सडक, शिक्षा, स्वास्थ्य र यातायातमा उनले पुर्याएको योगदान।
व्यक्तिगत सम्बन्ध: कुनै पार्टी वा विचार नभनी समस्यामा परेका नागरिकलाई तत्काल सहयोग गर्ने उनको सहयोगी स्वभाव।
केन्द्रमा पहुँच: राज्य संयन्त्र र कर्मचारीतन्त्रलाई विश्वासमा लिएर काम गराउन सक्ने उनको ‘हक्की’ र निडर कार्यशैली।
अदृश्य जनसमर्थन: बाहिर अन्य दलमा आबद्ध देखिए पनि भित्रभित्रै “विकासका लागि जनार्दन” भन्ने भावना भएका मतदाताको ठुलो संख्या।
विकल्पको अभाव: केन्द्रमा पहुँच राख्न सक्ने र रुकुमलाई प्राथमिकतामा राख्ने उनी जत्तिको अर्को प्रभावशाली नेताको अभाव।
“गुण तिर्ने बेला”
प्रगतिशील लोकतान्त्रिक पार्टीका एक कार्यकर्ताका अनुसार, यसपटकको प्रतिस्पर्धा विगतको जस्तै फराकिलो मतान्तरले जीत निश्चित छ।
“रुक्मेली जनताले उहाँले लगाएको गुन बिर्सेका छैनन्। उहाँलाई जिताउनु भनेको रुकुमको भविष्य सुरक्षित गर्नु हो भन्ने चेतना आम नागरिकमा छ,” ती कार्यकर्ताले दाबी गरे।
“पार्टी भन्दा पनि व्यक्ति र विकास हेर्नेहरू जनार्दनतिरै छन्, तर संगठन हेर्नेहरू विभाजित देखिन्छन्,” राजनीति शास्त्रका जानकार भन्छन्, “यसपटकको चुनावले विचार ठुलो कि विकासको नेता भन्ने कुराको फैसला गर्नेछ।”
आम मतदाताको एउटै स्वर छ- यदि जनार्दन शर्मालाई यसपटक चुकाइयो भने रुकुम फेरि विकासको दौडमा पछाडि पर्नेछ।
त्यसैले, नयाँ चुनाव चिन्ह र नयाँ पार्टी भए पनि रुकुम पश्चिममा ‘जनार्दन ब्राण्ड’को विरासत कायमै रहने देखिन्छ।
आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रभावशाली नेता जनार्दन शर्मासँग नेपाली काँग्रेसका राजु केसी, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेकपा एमालेका नन्दाराम देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाहीलगायत चुनावी मैदानमा छन् ।
राराखबर । २०८२, ९ माघ शुक्रबार