
सुर्खेत – सुर्खेत क्षेत्र नम्वर १ का प्रतिनिधिसभा उम्मेदवार विष्णुबहादुर खड्काले जनताले कांग्रेसप्रति राखेको अटुट विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने दृढता व्यक्त गरेका छन् ।
निर्वाचन लक्षित भेटघाट तथा पार्टी संगठन सुदृढीकरणका क्रममा भेरीगंगा नगरपालिकामा भएको कार्यक्रममा उनले कांग्रेसप्रति जनस्तरमा रहेको भरोसालाई थप मजबुत बनाउनु पर्नेमा जोड दिए ।
खड्काले पार्टीभित्रका सानातिना मतभेद र आन्तरिक असन्तुष्टिलाई बिर्सिएर सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउदै भने, जनताको भरोसा नै राजनीति र लोकतन्त्रको प्राण हो। यदि हामीले जनताको विश्वास गुमायौँ भने लोकतन्त्र नै कमजोर हुनेछ। त्यसैले व्यक्तिगत स्वार्थ त्यागेर लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि कांग्रेस एकताबद्ध हुनुपर्छ।”
उम्मेदवार खड्काले आफ्नो राजनीतिक यात्राको केन्द्रबिन्दु नै जनताका दैनिक समस्या समाधान गर्नु रहेको स्पष्ट पारे । उनले विकास र सुशासन, रोजगारी र शिक्षा तथा स्वास्थ्य सुधारलाई प्राथमिकता दिने पनि बताए ।
कार्यकर्तालाई निर्देशन
खड्काले चुनावी अभियानलाई मर्यादित, अनुशासित र जनमुखी बनाउन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, घर-घरमा पुगेर कांग्रेसको नीति र सिद्धान्त बुझाउन र नकारात्मक प्रचार र गुटगत राजनीतिमा नअल्झिनुस् ।
विगतका लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी अहिलेको पुस्ताको काँधमा आएको उल्लेख गर्दै खड्काले सत्य र तथ्यका आधारमा जनतामाझ जानु पर्ने बताए ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले खड्काको नेतृत्वमा चुनाव जित्ने संकल्प गर्दै पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने प्रतिबद्धता जनाए ।
राराखबर । २०८२, १० माघ शनिबार