आठ सय जनाको मुटु परीक्षण

बद्री पन्त
जाजरकोट ३, फागुन
जाजरकोट खलंगामा विहिवार सन्चालित निशुल्क मुटु परीक्षण शिविरमा ८ सय सर्वसाधारण लाभान्वित भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोग, जिल्ला समन्वय समिति जाजरकोटको आयोजना तथा र सम्मान फाउन्डेसन ललितपुरको संयोजनमा भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौर स्थित जाजरकोट अस्पतालमा सन्चालित निशुल्क मुटु परीक्षण शिविरमा ३ सय जनाले इसीजी गरिएको, चार सय पचास जनाको मुटुको इको गरिएको र ५० जनाको समान्य परीक्षण गरिएको मुटुरोग विशेषज्ञ प्रा. डाक्टर रवि मल्लले वताउनु भयो ।


शिविरमा मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मल्लको नेतृत्वमा डाक्टर राकेश अधिकारी लगाएत १५ जना बिशेषज्ञ चिकित्सकले विरामीको परीक्षण, निशुल्क इसीजी सेवा प्रदान, निशुल्क मुटुको भिडिओ एक्सरे (इको) सेवा प्रदान गर्ने, निशुल्क सुगर जाँच गर्ने, पीटी ÷आइएन आरको जाँच गर्ने, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपलव्ध निशुल्क तथा सशुल्क सेवावारे जानकारी दिने काम गरेको थियो ।
शिविरमा जाँच गरिएका मध्य २४ जनालाइ शहीद गंगालाल हृदयरोग निवारण केन्द्रमा रिफर गरिएको छ मुटु सम्वन्धी रोगका लागि थप उपचारको जरुरी भएका उनीहरुलाइ काठमाडौं सम्म पुग्नका लागि यातायात सुविधा, खाना वस्ने सवै सहयोग दिइने मल्लले बताउनु भयो । निशुल्क मुटु परीक्षण शिविर सन्चालनका लागि जिल्ला अस्पताल जाजरकोट, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोट, नेपाल हृदयरोग निवारण प्रतिष्ठान जाजरकोट, जाजरकोटी समाज वाँके, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, त्रिभुवन माध्यमिक विद्यालय खलंगा र जिल्लाका सातवटै स्थानीय तहले सहयोग गरेका थिए ।


जिल्लामा वालवालिकाहरुमा मुटु सम्वन्धी समस्या वढी देखिएको डाक्टर मल्लले वताउनु भयो । मुटुको हेरचाह र स्वास्थ्यका लागि नियमित व्यायम, स्वस्थ खानपीनमा ध्यान र नियमित स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको डाक्टर मल्लको भनाइ छ ।
जिल्लामा सन्चालित निशुल्क मुटु परीक्षण शिविरले आफुहरुलाई ठुलो राहत मिलेको भेरी नगरपालिका ३ स्यालाकी सीता कार्कीले बताउनु भयो । नियमित रुपमा यस्तै शिविर भइरहे स्वास्थ्य समस्यावाट पिडित जाजरकोटीलाई ठुलो फाइदा पुग्ने कार्कीको भनाइ छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया