प्रदेश स्थापनायताका ६ वर्ष एमाले पटक पटक सरकारमा सहभागी भए पनि सरकारको नेतृत्व भने गर्न पाएको थिएन । पहिलो पटक एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउँदै कँडेल मुख्यमन्त्री बनेका छन् । संसदीय राजनीतिमा पुराना र अनुभवी नेताका रूपमा हेरिने कँडेल मुख्यमन्त्री बन्ने योजना सहित २०७४ मा प्रदेश सभामा चुनाव लडेका थिए । एमाले˗माओवादीको बाम गठबन्धनबाट चुनाव लड्दा प्रदेशमा एमाले एक्लैले बहुमत प्राप्त गरेको थियो । बाम गठबन्धन भएपछि कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा प¥यो । माओवादी नेता महेन्द्र बहादुर शाही मुख्यमन्त्री बने । ०७४ यता कँडेलले मुख्यमन्त्री बन्न पटक–पटक प्रयास गरे तर सफल हुन भने सकेनन् । को हुन कँडेल ? २५ कात्तिक २०१८ सालमा दैलेखको साबिक सेरी गाविसमा बुबा मणिराम कँडेल र आमा भागीरथीको कोखबाट जन्मिएका कँडेल हाल वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी हुन् । उनका तीन छोरी छन् । ०३६ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका कँडेल सोही वर्ष सुर्खेतको दशरथपुरमा भएको किसान आन्दोलनमा सहभागी भए । उक्त आन्दोलनमा ४ जनाले सहादत प्राप्त गरेका थिए । उनी त्यति बेला शिखर मावि दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए । पछि ०४० सालमा काठमाडौँको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार बनेका उनी नेविसंघका तत्कालीन उम्मेदवार हृदयराम थानीसँग पराजित भएका थिए । थानी पनि कँडेलकै गृह नगर वीरेन्द्रनगरका हुन् । थानी–कँडेलको प्रतिस्पर्धा त्यहाँबाट सुरु भई ०७० सालको संविधानसभा निर्वाचनसम्मै कायम रह्यो । राजनीतिक यात्राकै क्रममा ०४२÷०४३ सालमा कँडेलले ९ महिना बन्दी जीवनसमेत बिताउनु परेको छ । ०४० देखि २०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील भएका कँडेल २०४९ सालमा सुर्खेत जिल्ला नेकपा (एमाले) को प्रथम अधिवेशनबाट सचिव बने । ०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका उनले मेयर पदबाट राजीनामा दिई ०५१ सालको मध्यावधि निर्वाचनमा काँग्रेसका हृदयराम थानीसँग प्रतिस्पर्धा गरे । उनी थानीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यता पार्टीमा पनि उनले आफूलाई विकास गर्दै लगिरहेका थिए । कँडेल बिस्तारै सुर्खेतको राजनीतिमा हाबी हुँदै गए । २०५१ मा साबिक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए । मालेमा आबद्ध भए लगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । २०६२÷२०६३ सालमा राजा ज्ञानेन्द्रको निंरकुशता विरुद्धको आन्दोलनको नेतृत्व गर्दा कँडेल सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार भएर ३ महिना जेल बसेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ वाट संविधान सभा सदस्य निर्वाचित भए । पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य हुदैं पोलिटब्युरो सदस्यमा निर्वाचित भएका कँडेल तत्कालीन भेरी अञ्चल इन्चार्ज हुँदै पार्टीको कर्णाली प्रदेश सहसंयोजक समेत बने । २०७२ मा संविधान जारी भएपछि प्रदेश विभाजन गर्दा तत्कालीन मध्यपश्चिमाञ्जल क्षेत्रका केही जिल्ला सुदूरपश्चिम प्रदेशमा मिसाएपछि सुर्खेतमा ठुलो आन्दोलन भएको थियो । कँडेलले उक्त प्रदेश प्राप्तिका आन्दोलनका बेला पनि नेतृत्व दाबी भूमिका खेलेका थिए । फलस्वरुप अहिलेको कर्णाली प्रदेश प्राप्त भयो । २०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका कँडेल प्रदेशसभा प्रमुख प्रतिपक्ष दलको नेता थिए । ०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशांै महाधिवेशन पछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका रहेका कँडेल हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज रहेका छन् । २०७९ सालमा सुर्खेतको प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका कँडेल अन्तत ६ वर्ष पछि मुख्यमन्त्री बनने अवसर पाएका छन् । कँडेलले अमेरिका, क्यानडा, चीन, श्रीलङ्का, बेलायत र टर्की लगायतका देशहरूमा भ्रमण गरेका छन् ।
यस्तो छ मुख्यमन्त्री कँडेलकाे राजनीतिक जीवन
सुर्खेत । कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । मङ्गलवार बेलुका प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
राराखबर । २०८०, २७ चैत्र मंगलवार