सिंजा गाउँपालिकाका ४ वटा विद्यालय निल 

जुम्ला
जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा ४६ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी दुई सय ७४ विद्यार्थीमध्ये ४६ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए। जसमध्ये १२ वटा विद्यालयका विद्यार्थी सहभागी थिए।जसमध्ये ४ वटा विद्यालयका विद्यार्थी निल भएको सिंजा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शंकर धितालले बताए।
निल हुनेमा जनज्योति आधारभूत विद्यालय रुगा,कालिका आधारभूत विद्यालय गाेरा,देउती आधारभूत विद्यालय भाडगाँउ र महादेव मावि गाेठिपीगिँ छन्।शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने एक वटा सामुदायिक विद्यालय छ।
दुई वटा विषयमा अनुत्तीर्ण हुने ४७ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् । ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न एक हप्ताको लागि भर्ना लिइएको शाखाले जनाएको छ । परिक्षाका लागि पछि टुंगो लगाउने उनी बताउँछन्।
प्रायःजसो अङ्ग्रेजी,गणित,विज्ञान र सामाजिक विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन्।गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरिएको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवित्रा शाहीले बताइन्।
उत्तरपुस्तिका समेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ ।
 “शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठुलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ”, शिक्षा शाखा अधिकृत धितालले भने, “विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षा प्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।
यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ । परिक्षा चैत देखि ९ गतेसम्म संचालन गरिएको थियोे।




फेसबुकबाट तपाईको प्रतिक्रिया