सुर्खेत । पत्रकार यज्ञ खत्री प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । कर्णाली प्रदेश सरकारले ९ औँ स्थापना दिवसको अवसरमा मङ्गलवार खत्रीलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पत्रकारितामार्फत कर्णालीको विकास र समृद्धिमा योगदान पु¥याएको भन्दै उनलाई पुरस्कृत गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । पत्रकार खत्रीलाई ५० हजार नगद र प्रमाणपत्रसहित कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्मान गरे ।
आठ वर्षदेखि कर्णालीमा रहेर पत्रकारिता गर्दै आएका खत्री हाल अनलाइनखबरमा कार्यरत छन् । कर्णालीमा बसेर पत्रकारिता गर्दा आएका खत्रीसँग पत्रिका र टेलिभिजनमा समेत लामो समय काम गरेको अनुभव छ । युवाहरूको संस्था फ्यूचर नेपालको अध्यक्ष समेत रहेका खत्री प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालित विभिन्न अभियानमा समेत सक्रिय छन् ।
प्रदेश सरकारले हरेक वर्ष कर्णालीको विषयमा कलम चलाउने तीन जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्दै आएको छ । यो वर्ष अनलाइनखबरकर्मी खत्रीसँगै पत्रकार राजेन्द्र कार्की र तुलाराम पाण्डे पनि पुरस्कृत भएका छन् ।
राराखबर । २०८१, ४ भाद्र मंगलवार