सुर्खेत– काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुरले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसको किल्ला मानिने सुर्खेत क्षेत्र नम्बर १ ले माघ ६ गते एउटा नयाँ तर परिचित अनुहारलाई उम्मेदवारको रूपमा पायो। उनी थिए, विष्णुबहादुर खड्का।
अन्योलको अन्त्य र ‘सरप्राइज’ इन्ट्री
सबै क्षेत्रमा उम्मेदवार टुङ्गिइसक्दा पनि सुर्खेत-१ ‘होल्ड’मा थियो। धेरैले अनुमान गरेका थिए- फेरि पनि पूर्णबहादुर नै दोहोरिनेछन्।
तर, कार्यवाहक सभापति पूर्णबहादुरले चुनाव नलड्ने घोषणा गरेपछि आम मानिसको नजर गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, क्षेत्रिय सभापति झकबहादुर डाँडी, काँग्रेस नेता अनन्त पौडेल वा साउदी अरवियाका लागि पूर्वराजदुत डाक्टर नरेशविक्रम ढकालतिर सोझिएको थियो।
तर, जब विष्णुको नाम सार्वजनिक भयो, धेरैका लागि यो ‘सरप्राइज’ मात्र थिएन, एउटा नयाँ बहसको सुरुवात थियो। उनीले आफ्नो इच्छाले होइन, पार्टी र कार्यकर्ताको आग्रहमा चुनाव लड्न अघि सरेका थिए ।
म चुनाव लड्दिन जो उठेपनि सघाउँछु भनेका खड्कालाई घरमै पुगेर नेता कार्यकर्ताले एकमत भएर चुनाव लड्न दवाव दिएका थिए ।
“म दाइको छाया मात्र होइन”
उम्मेदवारी घोषणासँगै विपक्षीले एउटै अस्त्र प्रहार गरे-‘विरासतको राजनीति’। “पूर्णबहादुरको विरासत धान्न भाइ आए” भन्ने भाष्य निर्माण गरियो। तर, विष्णु यसलाई स्वीकार्न तयार छैनन्। उनले वीरेन्द्रनगरको पत्रकार सम्मेलनमा भावुक तर दृढ हुँदै भने:
“मलाई मेरो दाइसँग जोडेर मात्र नहेरिदिनुस् साथीहरू, मेरो विगत पनि केलाइदिनुहोस्। म व्यवस्था विरोधी आन्दोलनमा ३७ दिन जेल बसेको मान्छे हुँ। दाइकै कारण स्वार्थको लाभ लियो भन्लान् भनेर मैले आफ्ना योगदानलाई गौण राखें।”
विष्णु दाइको ओत लागेर राजनीतिमा आएका होइनन्, बरु दाइको राजनीतिक उचाइका कारण आफ्ना आकांक्षाहरूलाई वर्षौंसम्म खुम्च्याएर बसेका त्यागका पात्र हुन्।

जेलदेखि ‘माया अस्पताल’ सम्मको यात्रा
विष्णुको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहदेखि सुरु भएको हो। २०४६ को आन्दोलनमा ११ र २६ दिन गरी दुई पटक हिरासतमा रहँदा उनले भोगेको यातना नै उनको राजनीतिको जग हो।
तर, परिवारमा एकजना सक्रिय राजनीतिमा भएपछि अर्कोले व्यवसाय सम्हाल्ने अलिखित समझदारी जस्तै भयो।
उनले २०४२ सालमा आमाको नामबाट ‘माया मेडिकल हल’ सुरु गरे, जुन आजको ‘माया अस्पताल’ बनेको छ। यातायात व्यवसायदेखि औषधि डिलरसम्म फैलिएका उनी करिब ८०० जनालाई रोजगारी दिने सफल उद्यमी हुन्।
२३ वर्षदेखि यातायात क्षेत्रको नेतृत्व गरेका उनी व्यवसायी मात्र नभई जनताका सुख दुखका साथी पनि हुन । धेरैका लागि आशा र भरोसाका केन्द्र पनि हुन ।

पुरानै प्रतिस्पर्धी
यसपटक विष्णुको बाटो सहज छैन। उनका मुख्य प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाही हुन्, जसले पूर्णबहादुरसँग हार र जितको स्वाद चाखिसकेका छन्। एकातिर ‘विरासत’ जोगाउने चुनौती छ भने अर्कोतिर रास्वपाका टेकबहादुर सिंह र उज्यालो नेपाल पार्टीका ठम्बरबहादुर विष्ट जस्ता ‘फ्याक्टर’हरू मैदानमा छन्।
विष्णु खड्काका लागि यो चुनाव केवल अंकगणित होइन, आफ्नो पहिचानको लडाइँ पनि हो। उनी भन्छन्, “मैले टिकट दाइबाट होइन, गगन थापा (पार्टी सभापति) बाट पाएको हुँ।” यसले उनी पार्टीभित्रको नयाँ पुस्तासँग कति नजिक छन् भन्ने संकेत गर्छ।
नयाँ अध्यायको सुरुवात
पूर्णबहादुरले बनाएको राजनीतिक जग र विष्णुले आर्जेको सामाजिक तथा व्यावसायिक छविबीचको फ्युजन नै यसपटकको कांग्रेसको मुख्य हतियार हो। मतदानले यसपाली पक्कै पनि विष्णुको ‘संघर्ष र निष्ठालाई रोज्नेछन् ।

राराखबर । २०८२, २३ माघ शुक्रबार