संसदमा जाजरकोटको आवाज कांग्रेसले बुलन्द पार्छ: उम्मेदवार खडक बुढा

जाजरकोट- नेपाली कांग्रेसका उम्मेदवार खडक बुढाले जाजरकोटवासीका आधारभूत समस्या र आवाज लामो समयदेखि राज्यको संसदमा उपेक्षित भएको आरोप लगाउँदै अब कांग्रेसले त्यसको नेतृत्व गर्ने दाबी गर्नुभएको छ।

जाजरकोटको भेरी नगरपालिकाका विभिन्न वडाहरूमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै बुढाले जिल्लाको विकास र सेवा प्रवाहमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो।

सत्तामा पुग्नेहरूबाटै जनतालाई ‘धोका’

पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेततर्फ संकेत गर्दै बुढाले भन्नुभयो, “हामी गरिब हुन सक्छौं, तर इमान बेच्दैनौं। राज्यसत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुगेर पनि जाजरकोटमा खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा नगर्नु जनताप्रतिको धोका हो।”

उहाँले थप्नुभयो:

“सीमित व्यक्तिको मात्रै पहुँच पुग्ने र आम नागरिकको गुनासो नसुनने प्रवृत्तिले जिल्लाको समग्र विकास अवरुद्ध भएको छ। घर–घरमा खानेपानी र गुणस्तरीय विद्यालय बनाउनु सामान्य कुरा हो, तर सत्ता स्वार्थमा लिप्त नेताहरूले यी कामलाई कहिल्यै प्राथमिकता दिएनन्।”

‘भोट नबेच्न’ मतदातालाई आग्रह

पछिल्लो समय निर्वाचनमा आर्थिक प्रलोभन देखाएर भोट किन्ने प्रयास भइरहेको प्रति सचेत गराउँदै बुढाले मतदातालाई त्यस्ता प्रलोभनमा नपर्न आग्रह गर्नुभयो। “भोट बेच्नु भनेको आफ्नो र भावी पुस्ताको भविष्य बेच्नु हो,” उहाँले भन्नुभयो।

समावेशी मुद्दा र मतदाताको गुनासो

कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार हजारी नेपाली (वादी) ले दलित, महिला र अल्पसंख्यक समुदायको अधिकार रक्षाका लागि कांग्रेसले आफूलाई उम्मेदवार बनाएर ऐतिहासिक न्याय गरेको बताउनुभयो। उहाँले निर्वाचित भएमा यी वर्गका मुद्दालाई संसदमा सशक्त ढंगले उठाउने प्रतिबद्धता जनाउनुभयो।

मतदाताहरुले पटक-पटक एउटै अनुहारलाई जिताए पनि बाटो, खानेपानी र रोजगारीको अवस्था उस्तै रहेको, अब भाषण मात्र होइन, परिणाम दिने र स्थानीय दुःख बुझ्ने नेता चाहिएको,नेताहरू चुनाव जितेर सत्तामा पुगेपछि जिल्ला फर्केर नआउने प्रवृत्तिले जनता निराश भएको जस्ता गुनासो गरेका थिए ।

उम्मेदवार बुढाले आफू सधैं जाजरकोटमै बसेर गरिब र विपन्नको सेवामा लागेको स्मरण गराउँदै दलीय घेराभन्दा माथि उठेर जिल्लाको साझा विकासका लागि काम गर्ने अठोट व्यक्त गर्नुभयो।




फेसबुकबाट तपाईको प्रतिक्रिया