सुर्खेत । भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको कामको लागि चिनियाँ कम्पनीसँग हस्ताक्षर भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन इकाई प्रमुख संजीवकुमार साह र काम गर्ने चिनियाँ कम्पनी जि-ज्याङ टिम्स इन्टरनेसनल इक्नोमिक एण्ड टेक्निकल को-अप्रेशन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबीच बुधबार एक कार्यक्रमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
त्रिपक्षीय हस्ताक्षरपछि अब उपआयोजनाको पहिलो चरणको काम सुरु हुनेछ । भेरी नदीको पानीलाई पम्पिङ गरी लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याइ उपभोक्ताहरुलाई वितरण गर्न विश्व बैंकको सहयोगमा उपआयोजना सुरु भएको हो ।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख साहले गत वर्षको असोजमा कामका लागि ठेक्का आह्वान गरिएकोमा सात वटा कम्पनीले ठेक्का हालेको र त्यसमा दुइटा कम्पनी अयोग्य भएपछि पाँच वटा प्रतिस्पर्धामा रहेको जानकारी दिए ।
पाँच वटा कम्पनीमध्ये चिनियाँ कम्पनी जि-ज्याङ टिम्स इन्टरनेशनल २४.०८ प्रतिशत घटेर तीन अर्ब पाँच करोड आठ लाखमा सो कामको ठेक्का प्राप्त गर्न सफल भएको उनले बताए । वीरेन्द्रनगरको अमृतडाँडामा ९० लाख लिटरको ट्यांकी बनाएर पानी जम्मा गरिनेछ । यसका साथै २९ किमि पाइप विछ्याइनेछ ।
यसैगरी आयोजनाको परामर्शदाता एमएसडी कम्पनीका विज्ञ सुरेश महाजुले भेरी नदीबाट ५६० लिटर प्रतिसेकेण्ड पानी लिफ्ट गरिने बताए । उपआयोजनाको पहिलो चरणको कामको अवधि तीन वर्ष छ ।
उपआयोजना निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ कम्पनी जि-ज्याङ टिम्स इन्टरनेशनलका प्रतिनिधि श्रेष्ठले कुनै अवरोध नभए तोकिएको समयभित्रै सबै काम सम्पन्न गरिने बताए । अहिले ६ दिनमा एक पटक पानी आउने चर्को अभाव भोगिरहेको बेला यो आयोजना सम्पन्न भएमा खानेपानीको समस्या समाधान हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए ।
उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले सन् २०५० सम्म वीरेन्द्रनगरको जनसंख्यालाई लक्षित गरी भेरीको पानी लिफ्ट गरेर ल्याउन लागिएको बताइन् ।
राराखबर । २०८१, १३ भाद्र बिहीबार