कोरोना भित्रिन नदिन सुर्खेतको जामुमा होल्डिङ सेन्टर

सुर्खेत
कैलालीसँग सीमा जोडिएको सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको छ ।
भारतलगायत तेस्रो मुलुकबाट कर्णाली भित्रिने नागरिकको परीक्षण गरी कोरोना संक्रमण भित्रिन नदिन अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग र वीङ्स फाउण्डेशन सुर्खेतको समन्वयमा होल्डिङ सेन्टर संचालन गरिएको हो ।
कर्णाली प्रदेश सरकारले जामु नाकामै संचालनमा ल्याएको १५ बेडको अस्पतालसहितको होल्डिङ सेन्टरको सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले मंगलबार शुभारम्भ गरेका छन् ।


कोरोनाको तेस्रो लहरलाई रोक्नका लागि कर्णाली भित्रिने तीन वटै नाकामा चेकजाँच र अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको मन्त्री बिसीले बताए ।
कुइने नाकाबाट सुर्खेत, दैलेख, कालिकोट, अछाम र बाजुराका मान्छेहरु आउने जाने गर्छन ।
होल्डिङ सेन्टर संचालन गर्न समन्वय गरेका वीङ्स फाउण्डेशनका अध्यक्ष तथा वालरोग विशेषज्ञ डा. नवराज केसीले अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोगमा तीन महिनासम्म सेन्टर संचालन गरिने बताए ।
उनले स्वास्थ्यकर्मी, परीक्षणका लागि आवश्यक एन्टिजेन कीट, औषधि अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीले उपलब्ध गराइएको उल्लेख गरे ।
कार्यक्रममा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले नाकामा परीक्षण र अस्पताल सञ्चालन गर्दा गाउँमा संक्रमण फैलिन नपाउने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया