गुर्भाकोट ग्यालरीमा आवद्ध युवाहरुद्वारा खाजा खर्च कटाएर भुकम्प प्रभावित विद्यार्थीलाई सहयोग

विष्णु रावल, जाजरकोट
सुर्खेतस्थित गुर्भाकोट ग्यालरीमा आवद्ध युवाहरुले आफ्नो खाजा खर्च कटाएर बचत गरेको रकमबाट भुकम्प प्रभावित  जाजरकोटका विद्यार्थीलाई कपडा सहयोग गरेका छन् ।
नलगाड –१० रावतगाउँको जनविकास आधारभूत विद्यालयका १४७ जना विद्यार्थीलाई सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका युवाहरुले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई पोशाक बाँडेका हुन् ।


सबै विद्यार्थीलाई पुग्ने गरी पहिलो पोशाक पाएको विद्यालयका प्रधानाध्यापकले बताए । उनले संकटको बेला सहयोग गर्ने युवाहरु र सहयोगको लागि पहल र समन्वय गर्ने पत्रकार प्रकाश पन्तप्रति आभार व्यक्त गरे ।


हाम्रो विद्यालयका विद्यार्थीको लागि धेरैलाई आग्रह गरियो तर कतैबाट पनि सहयोग भएन्, उनले भने, अहिले युवाहरुले सहयोग गर्दा धेरै नै खुशी लागेको छ ।

दुर्गम ठाउँका भुकम्प प्रभावित विद्यार्थीलाई सहयोग गर्दा खुशी लागेको युवा समाजसेवी महेन्द्रजंग शाहीले बताए । उनले आफुहरुले दैनिक खाजा खर्च र आफ्ना आवश्यकताहरुलाई सिमित पारेर संकलन गरेको रकमबाट विद्यार्थीलाई सहयोय गरेको उल्लेख गरे ।
बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले काहीकतैबाट सहयोग नपाएका भुकम्प प्रभावित विद्यार्थीको लागि पाेशाकको लागि पहल र समन्वय गर्न अवसर पाउँदा गर्व महशुस भएको बताए । उनले आगामी दिनहरुमा पनि विद्यार्थीलाई आवश्यक पर्ने सहयोगको लागि पहल गर्ने बताए ।


कार्यक्रममा पत्रकार पन्तले विद्यार्थीको लागि बारम्बार सहयोगको लागि आग्रह गर्ने गाउँका अगुवा गोपे रावत, डिलाराम बोहरा, कमल रावतलगायतप्रति आभार समेत व्यक्त गरेका छन् ।


विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी, अभिभावकका साथै गाउँका अगुवाहरुले कार्यक्रमलाई प्रभावकारी र सहज बनाउन महत्वपूर्ण भुमिका खलेका थिए ।ग्यालरीमा आवद्ध युवा समाजसेवी परमोल पुन, मनोज विक र जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डा.पवनजंग शाहले विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया