सुर्खेत, २२ मंसिर ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गतवर्षको तुलनमा यसवर्ष कर्णाली प्रदेशमा मावअधिकारको अवस्थामा सुधार आएको जनाएको छ ।
अघिल्लो वर्ष कर्णाली प्रदेशका दश जिल्लामा पाँच सय १६ जना पीडित भएकोमा यसवर्ष ४ सय ४७ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
शुक्रवार बीरेन्द्रनगरमा भएको कार्यक्रममा इन्सेका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा राज्य र गैरराज्य दुवै पक्षबाट मानवअधिकार उल्लंघनका घटना भएको बताए । राज्य पक्षबाट दश मानवअधिकार उल्लंघनका घटनामा ३६ जना पीडित भएका छन । भने गैर राज्य पक्षबाट बढी महिला तथा बालवालिका पीडित भएका छन ।
गतवर्षको तुलनामा यसवर्ष बालबालिका बढी पीडित भएका छन । अघिल्लो वर्ष २८ जना बालबालिका पीडित भएकोमा यसवर्ष त्यो संख्या बढेर ६१ पुगेको उनले बताए । यसवर्ष २ सय ३४ जना महिला पीडित भएका छन ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सविच रामप्रसाद थापलियाले मानवअधिकार उल्लंघनका घटना रोक्नको लागि सवै जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले मानवअधिकार रक्षाको लागि नेपाल प्रहरी प्रतिवद्ध र कटिबद्ध भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई, उच्च अदालत बार एशोससियनका अध्यक्ष उत्तम आचार्य लगायतले मानवअधिकार रक्षाको लागि नीतिगत समस्याहरु समाधान गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको संचालन इन्सेक सुर्खेतका प्रतिनिधी दुर्गा थापाले गरेका हुन ।
राराखबर । २०७५, २२ मंसिर शनिबार