यी हुन् भविष्यमा धेरै रोजगारी पाइने पाँच क्षेत्र, तपाईँ कसरी जम्ने ?

धेरै त्यस्ता रोगजारीहरू पनि छन् जुन श्रमबजारबाट छिट्टै गायब हुन थाल्ने छन्।

कम्प्यूटर कोडयुक्त डिजिटल स्क्रीनमा हेर्दै स्मार्ट चस्मा लगाएका युवा पुरुष र महिलाको भविष्य जनाउने तस्बिर

‘बिग डेटा’, ‘क्लाउड कम्प्यूटिङ’ र ‘आर्टिफिशल इन्टेलिजन्स’ (एआई) जस्ता प्रविधिको क्षेत्रमा देखिएको तीव्र प्रगतिले श्रमबजारमा ठूलो परिवर्तन हुने प्रक्षेपण गरिएको छ ।

अहिले विश्वको श्रमबजार पहिलेभन्दा तीव्र गतिमा बदलिइरहेको छ। आज अस्तित्वमा रहेका अधिकांश कामहरू भविष्यमा हराउनेवाला छन्।

‘वर्ल्ड ईकनोमिक फोरम’ले हालसालै गरेको एउटा अध्ययनका अनुसार यसमा मूलत: दुई तत्त्वले फरक पारेका छन् : नयाँनयाँ प्रविधिको जन्म र स्वचालित उपकरणको प्रयोग, अनि हरित अर्थतन्त्र र दिगोपनातर्फको अभियान।

‘बिग डेटा’, ‘क्लाउड कम्प्यूटिङ’ र ‘आर्टिफिशल इन्टेलिजन्स’ (एआई) जस्ता प्रविधिको क्षेत्रमा देखिएको तीव्र प्रगतिले श्रमबजारमा ठूलो परिवर्तन हुने प्रक्षेपण गरिएको छ।

यसको राम्रो पक्ष भनेको नयाँ प्रविधिको आगमनले सम्पूर्ण अर्थतन्त्रले गति प्राप्त गर्छ भने केही रोजगारीका क्षेत्र नष्ट हुँदा अरू धेरै सिर्जना पनि भइराखेका हुन्छन्। समग्रमा भन्नुपर्दा व्यावसायिक क्षेत्रमा पनि थोरै स्रोतसाधनले धेरै हासिल गर्न सकिने भएकाले स्वाभाविक रूपमा त्यसको विस्तार समेत हुन्छ।

‘वर्ल्ड ईकनोमिक फोरम’का अनुसन्धानकर्ताहरू आउँदो पाँच वर्षमा हाल विद्यमान रोजगारीमध्ये लगभग एक चौथाइमा परिवर्तन आउने बताउँछन्।

त्यसैले तीव्र रूपमा प्रतिस्पर्धात्मक हुँदै गएको श्रमबजारमा सफलता प्राप्त गर्न मानिसले निरन्तर रूपमा नयाँ सीप सिक्ने र आफ्नो क्षमतालाई तिखार्दै लानुपर्ने भएको छ।

मुख्य सीपहरू

मेडिकल इलेक्ट्रोनिक्स मशीन उत्पादन कारखानामा कार्यरत एक प्रशिक्षार्थी इन्जिनियर

  भविष्यमा ‘एसटीईएम’सम्बन्धी कामहरू लोकप्रिय हुने ठानिएको छ ।

नयाँ श्रमबजारमा प्रतिस्पर्धात्मक क्षमता कायम राखिराख्न सक्षम हुनका निम्ति आवश्यक पर्ने मुख्य सीपहरूमध्ये प्राविधिक साक्षरता एउटा हो।

यसको मतलब सबैले ‘प्रोग्र्यामिङ ल्याङ्ग्विज’ जान्नुपर्छ वा ‘मशीन लर्निङ’को जटिलतालाई बुझ्नुपर्छ भन्ने होइन।

तर भविष्यमा ‘एसटीईएम’सम्बन्धी कामको उच्च माग हुने ठानिएको छ। ‘एसटीईएम’ले फरक तर सम्बन्धित प्राविधिक क्षेत्रको समूहलाई बुझाउँछ, जसमा क्रमश: विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित पर्छन्।

त्यसैले तपाईँ आफ्ना केटाकेटीलाई विद्यालयमा के विषयमा ध्यान दिन लगाउने होला भनेर सोचिरहनुभएको छ भने त्यसको जवाफ यही हो : गणित, कम्प्युटर साइन्स र प्राकृतिक विज्ञान।
त्यस्तै अर्कै आवश्यक सीप भनेको विश्लेषणात्मक सोचको हो। यसमा सुधार ल्याउन व्यक्तिले आफ्नो सङ्ज्ञानात्मक क्षमतालाई तिखार्नुपर्छ। अर्को शब्दमा भन्दा दिमागलाई तिखो पार्नुपर्छ, प्रवृत्तिहरूलाई ख्याल गर्न, तथ्यहरूबीचको सम्बन्ध केलाउन र भावना वा निजी प्राथमिकताबाट प्रभावित नभईकन निष्कर्ष निकाल्ने क्षमताको विकास गर्नुपर्छ।

त्यसो गर्न सक्षम हुनका निम्ति तपाईँले स्वयंलाई सतर्क र एकाग्र बनाउन प्रशिक्षित गर्नुपर्छ किनकि मोबाइलसहितका विभिन्न उपकरण, सामाजिक सञ्जाल, अनलाइन खेलहरू तथा विज्ञापनहरूले लगातार हाम्रो ध्यान भड्काउनुका साथै कतै हामी पछि छुट्ने हो कि भन्ने डर पैदा गराइराखेका छन्।

विश्लेषणात्मक सीपभित्र उत्सुकता र निरन्तरको स्वयंशिक्षा पनि पर्छन्। त्यसमा निरन्तर सुधार ल्याउन र सिक्न तपाईँ आफ्नो लक्ष्यमा केन्द्रित हुन सक्षम हुनुपर्छ।

उच्च स्तरको अङ्ग्रेजी भाषा सिक्नु पनि हासिल गर्नैपर्ने महत्त्वपूर्ण दक्षतामध्येको हो।

त्यस्तै सिर्जनात्मक हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ। विज्ञान, इन्जिनियरिङ, डिजाइन र कलामा प्राविधिक साक्षरतासहितको सिर्जनात्मक क्षमता प्रबन्ध गर्न सक्ने खुबी भएको व्यक्तिले ‘सुनौलो पुरस्कार’ हासिल गर्ने छ।

रोबोट बनाउँदै गरेकी किशोरी

विज्ञान, इन्जिनियरिङ, डिजाइन र कलाको क्षेत्रमा अझै पनि सिर्जनात्मकता नै सफलताको ढोका खोल्ने मुख्य साँचो हो ।

सञ्चार र अन्य व्यक्तिको भावनालाई बुझ्न सक्ने क्षमता पनि एआईको युगमा उच्च महत्त्व दिइने सीपमध्येको हो।

यन्त्रउपकरणको जतिसुकै तीव्र विकास भए पनि मानिसलाई जहिल्यै मानिसकै आवश्यकता पर्ने छ। त्यसैले ध्यान दिन सक्ने क्षमता, सामूहिक कार्य, सुन्ने क्षमता, कथा भन्ने क्षमता, सहयोग तथा सहानुभूतिजस्ता कुराले पनि उत्तिकै महत्त्व पाउने छन्।

पेसागत व्यक्तिहरूको ‘सोशल नेट्‌वर्क प्ल्याटफर्म’ ‘लिङ्क्डइन’मा सन् २०२० मा प्रकाशित एक प्रतिवेदनका अनुसार सञ्चारसम्बन्धी दक्षता श्रम बजारमा पहिलेदेखि नै अधिक मागमा रहेको सीपमध्येको हो।

कार्यस्थल विशेषज्ञ ड्यान नेग्रोनी भन्छन्, “कार्यस्थलमा एआई र रोबटहरूको प्रयोग बढेसँगै अनि प्रविधिले संसारका विभिन्न स्थानका मानिसलाई एकआपसमा जोडिएर काम गर्ने स्थितिमा पुर्‍याएसँगै बोल्ने, सुन्ने र आपसमा जोडिने कुराले पहिले कहिल्यै नपाएको महत्त्व पाएको छ।”

नयाँ प्रविधिहरू

कम्युटर स्क्रीनमा प्रोग्र्याम कोडिङमा काम गरिराखेका सफ्टवेअर इन्जिनिअर

निकट भविष्यमा साइबर सुरक्षा विशेषज्ञहरूलाई निश्चित रूपमा कामको अभाव हुने छैन ।

सूचना प्रविधिलगायत नयाँ प्रविधिहरू निकट भविष्यमा निकै फस्टाउने उद्योगहरूमध्येका हुने छन् भन्ने कुरा अब आश्चर्यको विषय रहेन। एआई र मशीन लर्निङमा भएको विकासले आकर्षक अवसरहरूको सिर्जना गर्ने छ।

आशालाग्दो भविष्य भएको पेसामध्ये ‘प्रोम्प्ट इन्जिनियर’ पनि एउटा हो। यस्ता इन्जिनियरहरू विभिन्न किसिमका एआई मोडेलसँग सञ्चारका लागि विशेषज्ञ हुने छन् र एआईसँग गरिने अनुरोधहरूलाई ठिक तरिकाले तयार पार्ने छन्। प्रोम्प्ट इन्जिनियरले एआई र मानिसहरूबीच मध्यस्थकर्काात रूपमा काम गर्ने छ।

नीतिशास्त्रीको काम पनि एआईसँग सम्बन्धित सम्भावना भएको अर्को क्षेत्र हो। नीतिशास्त्रीले नैतिकता, सुरक्षा इन्जिनियरिङ तथा प्रयोगकर्तालाई सुहाउँदो मानव–मशीन अन्तर्क्रियाका निम्ति सहज इन्टरफेस बनाउने विषयमा दख्खल राखेको हुन्छ।

विभिन्न पेसाका मानिसहरूलाई सामान्यतया: एआईलाई प्रतिस्पर्धीका रूपमा नभई साझेदारका रूपमा लिन र योसँग कसरी व्यवहार गर्ने भने बुझ्न सुझाव दिइन्छ।

‘बिग डेटा’को विश्लेषण पनि अर्को सम्भावना बोकेको क्षेत्र हो, जसमा नेट्फ्लिक्सदेखि हाड्रन कोलिडरजस्ता विशाल सूचना प्रणाली र नियन्त्रण प्रणाली सामेल छन्।

सूचनासम्बन्धी संवेदनशीलता व्यापक हुने भएकाले निश्चित रूपमा साइबर सुरक्षामा दख्खल राख्नेहरूलाई कामको कमी हुने छैन।

त्यस्तै आर्थिक प्रविधिमा दक्ष, व्यवसायसम्बन्धी विश्लेषक र ब्लक्चेन प्रणाली विकास गर्न सक्नेहरूको पनि आवश्यकता पर्ने छ।

हरित रोजगारी

सोलार प्यानल जडान गर्दै निर्माण कामदारहरू

हरिततर्फको सङ्क्रमणले सन् २०३० सम्ममा स्वच्छ ऊर्जा, कार्यकुशलता र न्यून उत्सर्जनका क्षेत्रमा विश्‍व स्तरमा तीन करोड रोजगारीको सिर्जना गर्न सक्ने वर्ल्ड ईकनोमिक फोरमको प्रक्षेपण छ ।

वर्ल्ड ईकनोमिक फोरमको सन् २०२३ को ‘फ्यूचर अफ जब्स’ प्रतिवेदनका अनुसार विभिन्न क्षेत्र तथा उद्योगहरूमा हरित रोजगारीको माग पनि तीव्र रूपमा बढिरहेको छ।

“हरित सङ्क्रमणले सन् २०३० सम्ममा स्वच्छ ऊर्जा, कार्यकुशलता र न्यून उत्सर्जनका क्षेत्रमाविश्‍व स्तरमा तीन करोड रोजगारीको सिर्जना गर्न सक्छ,” प्रतिवेदनमा उल्लेख छ।

हाल हरित उर्जाको क्षेत्रमा रोजगारी सिर्जना गर्न पश्चिमा देशहरू अग्रस्थानमा छन् भने जापान र चीन पनि बिस्तारै हाराहारीमा पुग्दै छन्।
यी रोजगारीहरू व्यवसाय, विज्ञान, राजनीति वा पर्यावरणसँग सम्बन्धित हुन सक्छन्। ती क्षेत्रभित्र यिनले नवीकरणीय ऊर्जा, नयाँ ऊर्जाका स्रोत तथा ब्याटरीहरू, लोपोन्मुख प्रजातिको रक्षा, कानुनी अभ्यास तथा वातावरणीय सुरक्षा कानुनमा परिवर्तनजस्ता व्यावसायिक परामर्शलगायतका विषयमा काम गर्छन्।

त्यस्तै सहरी योजनाकार, आर्किटेक्ट तथा ‘स्मार्ट’ घरहरूको डिजाइन तथा निर्माण गर्नेहरूको पनि उत्तिकै खाँचो पर्ने छ।

स्वास्थ्यकर्मीहरू

चिकित्सकीय विवरण जाँच्दै अस्पतालका सहकर्मीहरू

रोगको निदान र उपचारका नयाँनयाँ विधिसँगको अनुकूलनसँगै चिकित्सक र स्वास्थ्य विशेषज्ञहरूको माग झन् धेरै बढ्ने छ ।

विश्‍व जनसङख्या पाको हुँदै छ र मानिसहरूको औसत आयु बढ्दै गइरहेको छ। यस्तोमा उपचार र स्याहारको अझै खाँचो पर्ने छ।

त्यसैले निकट भविष्यमा स्वास्थ्यकर्मीहरूको माग पनि धेरै नै रहने छ। बिरामीलाई औषधिमात्र नभई मनोबलसमेत प्रदान गर्ने स्वस्थ्यकर्मीको महत्त्व झन् धेरै बढ्ने छ।

चिकित्सक र स्वास्थ्य विशेषज्ञहरूहरूले रोगको निदान, उपचार र उपचारका नयाँनयाँ विधिबारे निरन्तर रूपमा सिक्नुपर्ने र स्वयंलाई अनुकूल बनाउनुपर्ने हुन्छ। त्यसमा एआईबाट समेत सहयोग प्राप्त हुने छ।

मनोचिकित्सक, व्यक्तित्व विकासमा सघाउने प्रशिक्षक र आध्यात्मिक साधना सिकाउनेहरूका निम्ति समेत कामको अवसर हुनेछ।

हातले काम गर्ने श्रमिकहरू

एक अनुभवी किसानबाट काम सिक्दै दुई सिकारु

कृषिमा पनि नयाँनयाँ किसिमका रोजगारीको माग बढ्ने ठानिएको छ ।

आउने वर्षहरूमा पनि मेकानिक, मर्मतकर्मी, विद्युत्कर्मी तथा निर्माण श्रमिकहरूको पनि आवश्यकता रहने छ।

विभिन्न परिस्थितमा आवश्यक पर्ने ससाना कार्यका निम्ति मानिस अथवा व्यक्तिको भूमिका अझै अपरिवर्तनीय रहने छ। तर बजारमा आफ्नो माग कायम राखिराख्न वा टिकिरहन यी विशेषज्ञहरूले स्वयंको प्राविधिक ज्ञानलाई निरन्तर तिखार्नुका साथै नयाँ र छरिता विधिहरूमा निपुण भइरहनु पर्नेछ।

त्यस्तै कृषिमा पनि नयाँनयाँ किसिमका रोजगारीको माग बढ्ने ठानिएको छ। विश्वको जनसङ्ख्या बढ्दै गइरहेको छ र सबैले खानुपर्छ। तथापि यस क्षेत्रमा कृषकहरूको भन्दा क्षमतावान् इन्जिनियरहरूको माग अधिक हुने छ।

यी रोगजारीहरू रहने छैनन्

कार्डबाट भुक्तानी गर्दै एक महिला

भविष्यमा ग्राहक सेवासँग सम्बन्धित काममा एकदमै कम अवसर हुने ठानिएको छ ।

धेरै त्यस्ता रोगजारीहरू पनि छन् जुन श्रमबजारबाट छिट्टै गायब हुन थाल्ने छन्। स्वचालित यन्त्रद्वारा गर्न व्यापक रूपमा सहज हुँदै गएका कार्यहरू यस अन्तर्गत पर्ने छन्।

छिट्टै नै श्रमबजारबाट लोप हुन लागेका कामहरूको सम्भावित सूची यहाँ प्रस्तुत छ :

  • ग्राहक सेवा (क्याशिअर, विक्रेता, परामर्शदाता आदि)
  • कार्यालय व्यवस्थापन (टाढाबाटै काम गर्न सकिने क्रम बढेकालेण
  • तथ्याङ्क प्रविष्टि (तथ्याङ्क तथा वित्त क्षेत्रका सहयोगी, टाइपिस्ट तथा प्राविधिक अनुवादकहरू)
  • लेखा
  • दोहोरिइरहने काम गर्ने कारखाना मजदुरहरू

कथावाचन

डायरी लेखिरहेकी बालिकाको तस्बिर

चुनौती जति भए पनि मानवीय अनुभवलाई प्रसार गर्ने कलात्मक र सिर्जनात्मक कार्यहरू पनि जीवित रहने छन् ।

भविष्यबारे कुरा गर्ने मानिसहरूद्वारा दुर्लभै मात्र चर्चा गरिएको अर्को एउटा पेसाको पनि भविष्यमा नि:सन्देह आवश्यकता कायम रहने छ; त्यो हो कथावाचन।

हजारौँ वर्षअघि जसरी यसको आवश्यकता थियो, त्यसरी नै मानवीय अनुभवलाई प्रसार गर्ने कलात्मक र सिर्जनात्मक कार्यहरूको महत्त्व भोलि पनि उत्तिकै रहने छ।

लेखक, कवि, निर्देशक, अभिनेता, हास्यकलाकार, कलाकार तथा सङ्गीतकाहरूको आवश्यकता पनि कायम रहने छ, भलै एआईले यी क्षेत्रमा पनि नयाँनयाँ चुनौतीको सिर्जना गर्ने छ।

विविसी नेपालीबाट साभार




फेसबुकबाट तपाईको प्रतिक्रिया