प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर सेवा संचालन, कर्णालीका विरामीलाई ठूलो राहात


सुर्खेत – प्रदेश अस्पताल सुर्खेतबाट क्यान्सर सेवा प्रदान गर्न विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनी र प्रदेश अस्पतालवीच संझौता भएको छ ।
सेवा संचालन गर्नको लागि मंगलबार प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्का र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक शीवजी पौडेलले संझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
संझौता अनुसार प्रथम पक्ष अर्थात विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा प्रदान गर्न यातायात, खाजा लगायतका लागि आवश्यक बजेटको व्यवस्था गर्ने, आवश्यक जनशक्तिको व्यवस्था मिलाउने, विस्तारित सेवाको हकमा महिनाको कम्तिमा पनि एक पटक सेवा संचालन गर्ने र विस्तारीत सेवामा बहिरंग, अन्तरंग एवं उपचार समेत समेटी सेवा दिने उल्लेख छ ।


यस्तै दोस्रो पक्ष अर्थात प्रदेश अस्पताल सुर्खेतले क्यान्सर रोगको विस्तारीत सेवा संचालन गर्न आवश्यक वातावरण मिलाउने, सेवा प्रवाहको लागि सूचना, कार्यतालिका र सेवा विस्तारवारे जानकारी दिने, आवश्यक पूर्वाधार र जनशक्ति परिचालन गर्ने उल्लेख छ ।
संझौता पत्रमा हस्ताक्षरको लागि आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्काले अस्पतालमा क्यान्सर सेवा थपिदा यस क्षेत्रका विरामीलाई ठूलो सहयोग पुग्ने बताए । उनले भने, यस क्षेत्रका गरिव तथा विपन्न क्यान्सर पिडीत नागरिक अव चितवन, काठमाडौ जानु पर्दैन । अव प्रदेश अस्पतालमै सेवा लिन आउनु होला ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक शीवजी पौडेलले क्यान्सर सेवालाई प्रभावकारी बनाउनको लागि प्रदेश अस्पतालका जनशक्तिलाई तालिम दिनुको साथै आवश्यक उपकरणको व्यवस्था गर्न सक्दो सहयोग गर्ने बताए ।

एक महिनासम्म क्यान्सरका विरामीहरुको पहिचान गरी आउदो असोजको दोस्रो सातातिर उपचार सेवा दिने योजना रहेको प्रदेश अस्पतालले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया