अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुल्यो

स्याउ बोकेका ट्रकलाई प्राथमिकता

सुर्खेत । पहिरोले ५ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत बुधबार (भदौ १२) राती परेको अविरल वर्षापछि अवरुद्ध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको हाे ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेका करिब ४५ वटा मालवाहक ट्रकहरु ५ दिनदेखि रोकिएका थिए ।

सडक सञ्चालनमा आएपछि अलपत्र परेका सबै मालवाहक ट्रकहरु गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले बताए ।

प्रहरी निरीक्षक थापाले भने, ‘गत बुधबारदेखि अवरोध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको छ । खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनिट्रक रोकिएका थिए । ती मध्ये केही अहिले आफ्नो गन्तव्यतर्फ लागेका छन् केही भोली जान्छन् होला ।’

यस्तै, सडक डिभिजन जुम्लाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए ।

उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सुचारु भएको सम्पूर्ण यात्रु महानुभावहरूमा जानकारी गराउन चाहान्छु । यो बर्सातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्नुहुन आग्रह गर्दछौँ।’

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारदेखि कालिकोट जिल्लाकै शुभकालिका गाउँपालिका–१ गगनेखोला, दही खोलामा भएको अवरोध सडक पूुर्णरुपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय जुम्ला र सुर्खेतको चार दिनको निरन्तर प्रयासपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया