सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णालीले पटक पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि नेताहरूले भने कर्णालीलाई नै हराएको बताएका छन् ।
कर्णालीको विकास र समृद्धिका लागी भन्दै पटक पटक नेताहरूलाई नेतृत्व तहमा पठाए पनि उनीहरूले भने आफू र आफ्नालाई मात्र बनाउन लागेको आरोप लगाएका हुन् ।
शनिवार वीरेन्द्रनगरमा आयोजित रास्वपाको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विकासमा गतिमा पछाडि छुटेको कर्णालीलाई अब हामी जोड्छौँ ।’
अहिलेसम्म नेपाली काँग्रेस, एमाले, माओवादीका नाममा पटक पटक नेताहरूले जिते पनि कर्णालीलाई भने तीनै नेताहरूले हराएको उनको आरोप छ ।
‘अहिलेसम्म कर्णालीले जितेन, सधैँ हा¥यो । अब आगामी ०८४ पछि हामी कर्णालीलाई जिताउँछौैंं’ कार्यकर्ताको तालीले हौसिएका लामिछानेले भने, ‘आगामी चुनावमा रास्वपालाई कर्णालीले सबैभन्दा बढी मत दिनेछ भन्ने अपेक्षा गरेको छु ।’
लामिछानेले राजनीतिकमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै घण्टीसँगै जिम्मेवारी, जनताको एजेन्डा रहेको बताए । सोही अनुसार नै अगाडि बढेर रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने दाबी गरे ।
उनले आगामी निर्वाचनमा पुराना नेताहरूलाई स–सम्मानका बिदा गर्ने बेला आएको समेत बताए । उनले भने, ‘पुराना राजनीतिक पार्टीहरूलाई बिदाइ गर्न नै रास्वपा जन्मेको हो ।’
पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सहर मात्र नभई गाउँ गाउँमा पनि रास्वपा फैलिँदै गएको दाबी गरे । बुर्लाकोटीले रास्वपा चार महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको बताए ।
सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत सावित हुँदै गएको बताउँदै उनले वर्षौदेखि रजाइँ गरेकाहरूले भ्रम छर्ने काम गरेको आरोप समेत लगाए ।
सांसद विनीता कठायतले रास्वपा कर्णाली विकासको आधारशिला हुने तर्क गरिन ।
त्यस्तै रास्वपा कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदनबहादुर खड्का चयन भएका छन् । उक्त भेलाले ९ सदस्य प्रदेश कमिटी चयन गरेको छ ।
जसको उपसभापतिमा प्रेम बोहरा, महासचिव ललितकुमार चन्द, सचिव र पार्टी प्रवक्तामा हरिप्रसाद अधिकारी र कोषाध्यक्षमा स्नेह उपाध्याय चयन भएका छन् ।
सन्तोष भण्डारी । २०८१, १५ भाद्र आईतवार