नलगाडको पञ्चभयार मावि जिकुवाका अभिभावक-शिक्षक आफ्नो विद्यालय आफै बनाउन कसिए

विष्णु रावल, जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका -८, जिकुवामा रहेको पञ्चभयार माध्यामिक विद्यालयको लागि आवश्यक परेको जग्गा किन्न अभिभावक र शिक्षकहरुले आर्थिक संकलनको अभियान थालेका छन् ।
कसैको भर नपरी आफ्नो विद्यालय आफै पनि बनाउन सकिन्छ भन्ने मुल लक्ष्य राखेर यो अभियान थालेको विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार केसीले बताए ।
उनले भने, विद्यालयको लागि धेरैसँग सहयोग माग्यौ तर कतैबाट पनि सहयोग नभएपछि आफ्नो विद्यालय बनाउन हामी आफै कसिएका छौ ।
अहिले जग्गा किन्नको लागि चाहिने करिव दश लाख रुपैया जुटाउने उनीहरु बताएका छन् ।
नलगाडकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यालय मध्य एक यो विद्यालयमा खेल मैदान र विद्यालय भवन बनाउने प्रयाप्त जग्गा छैन ।
जग्गाको लागि शिक्षक र अभिभावकहरुले पैसा संकलनको अभियान थालेका छन् ।
पहिला जग्गा किन्नको लागि आवश्यक पैसा जुटाउँछौ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालीबहादुर खत्रीले भने, अव कसैको पनि भर पदैनौ । जग्गा किने पछि विद्यालयको लागि चाहिने फिल्ड र भवन पनि श्रमदान गरी बनाउँछौ ।
यो राम्रो र पवित्र काममा सहयोग गर्न समेत उनीहरुले सबैसँग आग्रह गरेका छन् ।
उनीहरुका अनुसार जग्गा किन्नको लागि करिव ३ लाख जति विद्यालयमा कार्यरत शिक्षकहरुले उठाउने र वाकी रकम अभिभावक र विभिन्न व्यक्तिहरुसँग सहयोग माग्ने योजना रहेको छ ।


सामाजिक अभियन्ता तथा बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले शैक्षिक विकासको लागि शिक्षक अभिभावकले थालेको पवित्र अभियानमा सक्दो सहयोग सहयोग र हातेमालो गर्न सबैमा अनुरोध गरेका छन् ।
सामाजिक संजाल फेसवुक मार्फत उनले भनेका छन्, नयाँ खालको सोच र विचार राखेर थालेको यो अभियान अवश्य पनि सार्थक र सफल हुनेछ ।
उनले भनेका छन्, मलाई थाहाँ छ जग्गा नहुँदा विद्यालयमा राम्रो खेलमैदान छैन, राम्रो विद्यालय भवन पनि छैन । तर पनि अभिभावकहरु एकदमै जागरुक, शिक्षकहरु एकदमै अव्वल र विद्यार्थीहरु एकदमै परिश्रमी हुनुहुन्छ ।


अभिभावकहरु भन्छन्, कति अरुकै भर पर्ने ? कति सरकारको मुख मात्र ताक्ने ? कति नेताहरुको पाउ मल्ने जति भनेपनि कसैले सुन्दैनन् । केही हुदैन् ।
त्यसैले कसैको भर नपरी आफ्ना छोराछोरी पढने विद्यालयलाई आफ्नै घर सम्झेर हामी सक्दो सहयोग गर्ने उनीहरुको भनाई छ ।

अहिलेसम्म सहयोग गर्ने सहयोगी हातहरु 

हेमन्त केसी रु- २१५०, मनमाया बिक रु-२५००, लक्ष्मी बिक रु-२५००, मन बहादुर खत्री रु-५०००,भिम कुमारी बिक रु ५०००, नन्नकली बिक रु-२०००, बिमला बिक रु-१००० र करुन शाही रु ११०० सहयोग गरेका छन् ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया