खानेपानी र फोहोर व्यवस्थापनको माग गर्दै युवाहरूद्वारा नलगाड नगरपालिकाको ध्यानाकर्षण

जाजरकोट – नलगाड नगरपालिका वडा नं. ७, दल्लीका स्थानीय युवाहरूले खानेपानीको अभाव र अव्यवस्थित फोहोर व्यवस्थापनको समस्या समाधान गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

त्रिवेणी युवा क्लबका तर्फबाट नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले ६ बुँदे माग अघि सारेका हुन्।

​लामो समयदेखि स्वच्छ खानेपानीको पहुँच नहुँदा स्थानीय बासिन्दाको दैनिक जीवन कष्टकर बनेको र उचित फोहोर व्यवस्थापन नहुँदा वातावरणीय प्रदूषण बढ्दै गएको क्लबले जनाएको छ।

​मुख्य मागहरू:

  • समानुपातिक वितरण: कालान्गरे र तुनेपौरौको खानेपानीलाई सबै टोल र बस्तीहरूमा पारदर्शी र व्यवस्थित तरिकाले वितरण गरिनुपर्ने।
  • सार्वजनिक पहुँच: होटल र व्यक्तिगत घरमा जडान गरिएका निजी धाराहरू कटौती गरी १५ दिनभित्र सबैको पहुँच पुग्ने गरी सार्वजनिक स्थानमा धारा जडान गरिनुपर्ने।
  • डम्पिङ साइटको निर्माण: फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानमा ‘डम्पिङ साइट’ निर्माण गरिनुपर्ने।
  • नियमित फोहोर संकलन: फोहोर उठाउनका लागि ट्रयाक्टर वा टिपर जस्ता सवारी साधनको व्यवस्था गरी नियमित संकलन गरिनुपर्ने।
  • जरिवानाको व्यवस्था: सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई ५०० देखि ५,००० रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था मिलाउनुपर्ने।

​स्थानीय सरकार सञ्चालन भएको लामो समय भइसक्दा पनि बजार र सरकारी कार्यालयबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको पत्रमा उल्लेख छ।

​उक्त ध्यानाकर्षण पत्रमा त्रिवेणी युवा क्लबका अध्यक्ष धुर्व सिंह, उपाध्यक्ष नविन नाथ, सचिव भुपेन्द्र सुनार, कोषाध्यक्ष शोभा शाही र महासचिव शिशिर वि.क. लगायतको हस्ताक्षर रहेको छ। युवाहरूले यी मागहरू यथाशीघ्र कार्यान्वयन नभए थप कदम चाल्ने समेत संकेत गरेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया