बालमैत्री वडा घोषणाको तयारी: नलगाडमा बाल विवाह न्यूनीकरण सम्बन्धी वक्तृत्वकला

टुकमाया घर्ती

जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। पाँचतारा युवा संरक्षण मञ्च र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘सिल्ड परियोजना’ अन्तर्गत ‘बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता र क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो।

वक्तृत्वकलामा दिनेश प्रथम

​१३० जना विद्यार्थीहरूको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा ७ जना प्रतिस्पर्धीहरू बीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको नतिजा यस प्रकार रहेको छ:

  • प्रथम: दिनेश रावल (१३१ अंक – ४३.३६%)
  • द्वितीय: पारस रावल (१३० अंक – ४३.३३%)
  • तृतीय: करिना वली (९९ अंक – ३३%)

क्षमता अभिवृद्धि र बाल अधिकारमा जोड

​कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरिएको थियो। कार्यक्रमका मुख्य वक्ताहरूले बाल अधिकारका विविध पक्षमा प्रकाश पार्नुभएको थियो:

  • बाल संरक्षण अधिकृत उमानन्द के.सी.: उहाँले बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण, विकास र सहभागिताको अधिकारबारे स्पष्ट पार्दै हिंसामुक्त समाजले मात्र बालमैत्री वडाको आधार तयार गर्ने बताउनुभयो।
  • शिक्षा अधिकृत गोरख चन्द: चन्दले बालमैत्री स्थानीय शासनको अवधारणा, यसको आवश्यकता र यसका ५१ वटा सूचकहरूका बारेमा विस्तृत छलफल गर्नुभएको थियो।

बाल विवाह गर्नेलाई सेवा सुविधाबाट वञ्चित गरिने

​तथ्यांक अनुसार गत वर्ष वडामा भएका २७ विवाहमध्ये २२ वटा बाल विवाह भएका थिए। यस भयावह स्थितिलाई मध्यनजर गर्दै वडा कार्यालयले कडा नीति अख्तियार गरेको छ।

​”बाल विवाह एक सामाजिक रोग हो। अब उप्रान्त वडामा कसैले बाल विवाह गरेको खण्डमा स्थानीय सरकारबाट पाइने सेवा सुविधाबाट वञ्चित गरिनेछ र कानुन बमोजिम कडा कारबाही गरिनेछ,” वडा अध्यक्ष बद्रि बहादुर पन्तले चेतावनी दिनुभयो।

​कार्यक्रममा सहभागी अभिभावक मनिशा वलीले बालबालिकाको संरक्षण र गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभएको थियो। सामाजिक परिचालिका सविता वि.क. ले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमले वडालाई बालमैत्री बनाउन थप उर्जा प्रदान गरेको विश्वास गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया