सुर्खेत – नियमित गर्भ जाँच गराएर घर फर्किँदै गर्दा जाजरकोट नलगाड-८ की ३३ वर्षीया मीना बुढाक्षेत्री सवार अटो दुर्घटनामा पर्यो र खुसी बोकेर घर फर्किरहेकी उनी मृत्युसँग जुध्नुपर्ने अवस्थामा पुगिन्।
दुर्घटनालगत्तै उनलाई रुकुमको नगर अस्पताल आठबीसकोट पुर्याइएको थियो। तर, पेटभित्रै रक्तश्राव भइरहेको र अवस्था गम्भीर भएको भन्दै चिकित्सकहरूले तत्काल सुविधासम्पन्न अस्पताल लैजान सुझाए।
सडक मार्गबाट सुर्खेत पुग्न ६ घण्टा लाग्थ्यो, जुन समय मीना र उनको गर्भमा रहेको शिशुका लागि पर्याप्त थिएन।

एउटा फोन र आधा घण्टाको त्यो ‘चमत्कार’
छटपटाइरहेकी मीनाका आफन्तले अन्तिम आशाका रूपमा सुर्खेतमा रहेका बीबीसीका पत्रकार प्रकाश पन्तलाई सम्पर्क गरेर हेलिकप्टरको पहल गरिदिन आग्रह गरे।
पत्रकार पन्तले संवेदनशीलतालाई बुझ्दै तत्काल राष्ट्रपति महिला उत्थान कार्यक्रमकी संयोजक अन्जु ढुंगानालाई जानकारी गराए। ढुंगानाको तदारुकता र समन्वयपछि आधा घण्टाभित्रै नेपाली सेनाको हेलिकप्टर राडी पुग्यो।
आकाशमार्गबाट उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याइयो। अस्पताल पुर्याएको १५ मिनेटभित्रै शल्यक्रिया गरेर मिनाको गर्भबाट बच्चा निकालियो । तर नियति निकै निर्दयी सावित भयो।
पेटभित्रै भएको अत्यधिक रक्तश्रावका कारण तीन दिनसम्म जीवनका लागि संघर्ष गर्दागर्दै नवजात शिशुको मृत्यु भयो ।
मिनाको दोस्रो जन्म
शिशुलाई बचाउन नसकिए पनि चिकित्सकहरूको अथक प्रयास र समयमै भएको हवाई उद्धारका कारण मीनाको ज्यान भने जोगिएको छ। यदि त्यो आधा घण्टाभित्र हेलिकप्टर नआएको भए सायद मिनाको ज्यानै जान सक्थ्यो।
“यदि समयमै उद्धार नभएको भए आमाको ज्यान जोगाउन असम्भव जस्तै थियो,” उपचारमा संलग्न चिकित्सक धर्मराज रेग्मीले भने । अहिले आमाको स्वास्थ्यमा सुधार भइरहेको छ। एउटी आमाले आफ्नो सन्तान गुमाउनुको पीडा त छँदैछ, तर मृत्युको मुखबाट फर्किएकी मीनाका लागि यो एउटा कष्टकर ‘दोस्रो जन्म’ बनेको छ।
नेपालका दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूका लागि सरकारले सञ्चालन गरेको ‘हवाई उद्धार कार्यक्रम’ जीवन रक्षाको बलियो आधार स्तम्भ सावित भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत २०७५ पुस ६ गतेदेखि सुरु भएको यो कार्यक्रमले हालसम्म सयौँ आमाहरूको काख रित्त हुनबाट जोगाएको छ।

८ वर्षमा ८९० को सफल उद्धार
कार्यक्रम संयोजकका अन्जु ढुंगानाका अनुसार, २०८२ पुस २४ गतेसम्म देशभरका दुर्गम क्षेत्रबाट ज्यान जोखिममा परेका ८९० जना गर्भवती तथा सुत्केरी महिलाहरूको सफल हवाई उद्धार गरिएको छ।
“यो केवल एउटा सरकारी तथ्याङ्क मात्र होइन, यो ८९३ वटा परिवारको खुसी र एउटा सिङ्गो पुस्ताको रक्षा हो,” संयोजका ढुंगानाले भनिन्।
प्राविधिक कारणवश नेपाली सेनाको हवाई साधन उपलब्ध हुन नसकेको अवस्थामा निजी सेवा प्रदायक संस्थाहरूसँग समेत समन्वय गरी उद्धार कार्यलाई निरन्तरता दिने गरिएको उनले जानकारी दिइन्।
यसरी उद्धार गरिएका सेवा प्रदायकहरूलाई मन्त्रालयले सरकारी दररेट र नियमानुसार शोधभर्ना उपलब्ध गराउँदै आएको छ।
एक सफल ‘मोडल’ को रूपमा अनुसरण
मन्त्रालयले सम्पादन गरेका कामहरूको पहिचान र प्रभावकारितामाथि कहिलेकाहीँ प्रश्न उठ्ने गरे तापनि यो कार्यक्रमको सफलताले ती प्रश्नहरूको स्पष्ट उत्तर दिएको छ। महिलाहरूको मर्यादा र स्तरमा सुधार ल्याउन शारीरिक स्वास्थ्यको रक्षा पहिलो सर्त हो भन्ने कुरा यस कार्यक्रमले पुष्टि गरेको छ।
यस कार्यक्रमको संवेदनशीलता र सफलतालाई मध्यनजर गर्दै अहिले अन्य तह र निकायहरूले समेत यसलाई एउटा ‘सफल अभ्यास’ को रूपमा अनुसरण गर्न थालेका छन्।
आफ्नै मापदण्ड निर्माण गरी स्थानीय र प्रदेश तहमा पनि यस्ता प्रयासहरू हुनुलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ।

चुनौतीका बीच निरन्तरता
भौगोलिक विकटता, प्रतिकुल मौसम र सीमित स्रोत-साधनका बाबजुद सञ्चालित यो कार्यक्रमले दुर्गमका महिलाहरूमा “सरकार हाम्रो साथमा छ” भन्ने भरोसा दिलाएको छ।
तथापि, महिला सशक्तीकरणका अन्य आयामहरू जस्तै सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको विज्ञहरू बताउँछन्।
आगामी दिनमा यस कार्यक्रमलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजाने मन्त्रालयको लक्ष्य छ, ताकि नेपालको कुनै पनि कुनामा एउटी आमाले उपचारको अभावमा वा अस्पताल पुग्न नसक्दा अकालमा ज्यान गुमाउनु नपरोस्।
राराखबर । २०८३, ५ बैशाख शनिबार