हाइल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा दिनु गर्वको विषय हो : खेलकुद मन्त्री श्रेष्ठ

दिपेन्द्र शर्मा, सुर्खेत
जुम्लाको पातरासी गाउँपालिका -३ लोटचौरका रन बहादुर महतारा ५५ वर्षका भए । शुक्रबार दिउँसो दुई बजे युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ लोटचौरमा पुग्दा उनी साह्रै खुसी थिए । मन्त्री श्रेष्ठले दोसल्ला ओडाउँदै गर्दा उनले त्यहाँ बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरका लागि भनेर एउटा ९ सय ५० र अर्को २ हजार २ सय २० वर्गमिटरको जग्जा दान गरे ।
पाँच छोरा भएका महतारा आफ्ना छोराहरुको मुख नहेरी सरकारलाई ठूलो मन गरेर जग्गा दिने २१ जना मध्येका एक हुन । उनले थपे ‘विश्वको अग्लो स्थानमा हुने खेलको ठूलो महत्त्व हुने रहेछ ।
हाम्राे आगनमा खेलेका केटाकेटीले हाम्रो सिंगो देश चिनाउँदा यसको महत्त्व थाहा पायौं । त्यसैले जग्गा दिएको हुँ ।’उनका अनुसार भाइछोराले आगामी दिनमा पनि खेल क्षेत्रमा राम्रो प्रगति गर्नेछन् । त्यसैले जग्गा दान गर्नुमा कुनै कन्जुस्याइँ छैन । दिल खोलेर घर आगनमा खेल मैदान बन्न दिनुपर्छ ।
७० वर्षका कालिदास थापाले चार हल बराबर (लगभग २ दुई हजार ५ सय वर्ग मिटर) जग्गा दिए । ‘छोरानातीको भविष्य हेरेर सरकारलाई जग्गा दिएको हुँ,’ उनले भने, ‘राज्यले यत्रो करोडौं खर्च गरेर खेल मैदान बनाउँदैछ । त्यही भएर हामी राजीखुसीले जग्गा दिन तयार भएका हौं ।’पातरासी -३ का ऐराम रावत ४९ वर्ष भए ।
उनका तीन वटा छोरा छन् । छोराको भविष्यका अगाडि जग्गा केही होइन भन्ने ठानेर जग्गा दिन तयार भएको उनले बताए । उनले दुई हजार वर्ग मिटर जग्गा दान गरेका छन् ।’जग्गा केही होइन ।
तर यो जग्गामा बन्ने विश्वकै गौरवको हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर भने केही हो । यो बन्यो भने कम्तिमा हाम्रो उत्पादन बिक्री हुन्छ,’ उनले भने, ‘विश्वभरका मान्छेले हाम्रो भूमीमा आउँदा केही खर्च गर्नेछन् । छोराछोरीको भविष्य त त्यसै पनि राम्रो भइहाल्छ ।’पातरासी -३ का चाम्रे बोहोरा ७७ वर्ष भए । जग्गा दिन ढिलो भयो भने हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर नबन्दिने हो कि भन्ने पिर थियोे ।
त्यसैले उनी हतारहतार जग्गा दिन तयार भए । उनले भने, ‘मेरो आयु एक साठीको हो । मेरो पुस्ता त हजारौं वर्षसम्म रहिरहन्छ । त्यही पुस्ताले खेल क्षेत्रमा प्रगति गरोस् र आफ्नो भविष्य सुन्दर बनावस भन्नका लागि जग्गा दिएको हुँ ।’ जग्गा दाताले ठूलो मन गरको देखेर युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ भावुक भए । देशभर भू-माफियाले सरकार र सार्वजनिक जग्गा हडपेर हैरान दिएको बेला जुम्ला पातरासीका आमा बुबाले जग्गा दिनु ठुलो कुरा भएको उनले बताए ।
‘जुम्ला एउटा उदाहरण हो । जसले देशभरका भूमाफियाको कन्चटमा एक झापड हानेको छ,’ उनले भने, ‘यो देवो भूमिका नागरिकको फराकिलो मन छ । त्यही मनले कुनै लोभ नगरि जग्गा दिनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।
त्यसैले म भावुक छु ।’बोल्ने क्रममा चन्दननाथ, भैरवनाथ, बाह्र भाइ मष्टोको नाम लिँदै तीनको प्रभावले जुम्लाका नागरिकको फराकिलो मन भएको र मनका कुनै लोभ पाप नभएको उनले बताए । गिनिज बुक अफ ओल्ड रेकर्डेट धावक हरि रोकायाको उदाहरण दिँदै उनले भने, ‘हरि रोकाया जतिको मान्छे यो देशमा सायदै होलान् । उहाँमा भएजतिकोे सरलता पनि सायदै मान्छेमा होला ।
त्यसैले उहाँको त्याग तपस्यालाई संस्थागत गर्न यो क्षेत्रमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बन्नुपर्छ ।’झण्डै ३१ करोड बराबर डीपीआर तयार भएको हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि १० करोडसम्म बजेट रातो किताबमा पार्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता गरे । सँगै उनले जुम्ला रारा अल्ट्रा म्याराथनलाई राष्ट्रिय खेलकुदको क्यालेन्डरमा राख्ने प्रतिबद्धता समेत गरे ।उनको प्रतिबद्धता अनुसार स्थानीयले कागजी प्रक्रिया पूरा गरे जुम्लाको पातरासी -३ लोटचौरमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर खुल्ने बाटो सहज हुने मन्त्रीको निजी सचिवालयका उपसचिव सुदर्शन श्रेष्ठले बताए ।
दाताले प्रतिबद्धता गरे अनुसार ठूलो मन राखेर दिएको जग्गा विश्वको अग्लो स्थानमा पर्छ । यही ठाउँमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापनाका गर्न कुनै अवरोध नहुने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए ।
हालसम्म विश्वका ६ वटा ठाउँमा हाइअल्टिच्युड ट्रेडिङ सेन्टर भएपनि विश्वको उत्कृष्ट हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर जुम्लाको पातरासीमा हुने सांसद विनिता कठायतले बताइन् । उनले भनिन्, ‘अब यो विश्वका निम्ति आकर्षणको केन्द्र बन्नेछ ।
विश्भभरका मान्छेहरु ट्रेनिङ लिन यहाँ आउनेछन् । यसले हाम्रो जीवनस्तर सुधार गर्न मद्दत गर्नेछ । हाम्रा भाई बहिनी छोराछोरीले विदेश जानुपर्ने छैन ।’ हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा दिनेहरुको संख्या २१ रहेको मालिका मावि लोटचौरका प्रधानाध्यापक चुँडाराज न्यौपानेले बताए । उनले भने, ‘स्थानीय जग्गादाताले लगभग २४ हजार वर्गमिटर जग्गा दान गरेका छन् ।
यो ऐतिहासिक ऐतिहासिक कदम हो । जसको जति प्रशंसा गर्दा पनि कम हुन्छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया