जुम्लाको तातोपानी गाउँपालिकाको सामुदायिक विद्यालयमा अर्गानिक खाजाका लागि नमुना भान्सा घर तयार निर्माण गरिएको छ । पालिकाको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा दिवा खाजा भान्सा घर निर्माण गरिएको हो ।

तातोपानी–३ लिताकोटमा कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमको निर्माण भएको घर हस्तान्तरण सम्पन्न भएको छ । कालिका आधारभूत विद्यालयमा निर्माण सम्पन्न सुविधायुक्त भान्सा घर तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले भवनको उद्घाटन गरेका थिए ।
तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम विद्यालयहरूमा सुविधा सम्पन्न भान्सा घर निर्माण हुनुले आफू खुसी भएको बताएका छन् ।
उनले निर्वाचित भएपछिको प्रारम्भिक अनुगमनमा विद्यालयहरू अस्तव्यस्त अवस्थामा रहेको स्मरण गर्दै अहिले नमुना कक्षाकोठादेखि भान्सा घरसम्मको सुधारले उत्साहित बनाएको उल्लेख गरेका थिए ।
शिक्षा क्षेत्रमा पालिका र अन्य दातृ निकायसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौ । सामुदायिक विद्यालय सुधारका निम्ति पालिकाका कदममा स्थानीयको सहयोग आवश्पक छ । सामुदायिक विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्न पालिका सधैँ तयार रहेको अध्यक्ष चौलागाईको भनाई छ ।
कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मकृष्ण उपाध्यायले तातोपानी गाउँपालिकाले सिकाउने, टिकाउने र बिकाउने शिक्षामा गरेका प्रयास प्रशंसनीय रहेको बताए। उनले अर्गानिक दिवा खाजाले बालबालिकाको पोषण सुधारसँगै किसानलाई पनि उत्पादनमा आकर्षित गरेको बताए। सुधारिएको भान्सा घरले विद्यालयमा सहजता ल्याएको र शिक्षा क्षेत्रमा सुधार आएको उनको भनाइ छ।
उक्त भान्सा घर निर्माणको जिम्मेवारी रहेको उत्तम निर्माण सेवा कम्पनीले तोकिएको मितिभन्दा अघि नै निर्माण सम्पन्न गरेको कम्पनीका सञ्चालक गणेश देवकोटाले जानकारी दिए। उनले भने, “निर्माण कार्य समयमै सम्पन्न गर्न हामीले सबै स्रोतसाधन र श्रमको प्रभावकारी व्यवस्थापन गरेका थियौँ।”
निर्मित भान्सा घरले बालबालिकालाई पोषणयुक्त अर्गानिक दिवा खाजा उपलब्ध गराउन ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। यसरी समयमै काम पूरा हुनुले विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार ल्याउन ठुलो भूमिका खेल्नेछ।
साथै तातोपानी गाउँपालिकाका कूल २९ वटा सामुदायिक विद्यालय मध्ये १५ वटा विद्यालयमा भान्सा घर निर्माण गरिएको छ । जसमध्ये १३ वटा विद्यालयमा नयाँ सुविधायुक्त भान्सा घर निर्माण गरिएको छ । भने, २ विद्यालयको भान्सा घर मर्मत गरिएको छ । अर्गानिक दिवा खाजाबाट तातोपानीका २९ वटा सामुदायिक विद्यालयका २८ सय बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।
राराखबर । २०८२, २० जेष्ठ सोमबार