सुर्खेत । भिजिट कर्णाली यातायात प्रा.लि.ले अनलाइन प्रणालीबाट टिकट बुकिङलगायत सेवा दिन अनलाइन एप्स सार्वजनिक गरेको छ । मङ्गलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत यातायात प्रा.लि.ले भिजिट कर्णाली यातायात एप्स र भिजिट कर्णाली यातायात डटकम डट एन्पि नामक अनलाइन पोर्टल सार्वजनिक गरेको हो ।
भिजिट कर्णाली यातायात प्रा.लि. का अध्यक्ष प्रकाश कुमार शाहीले २१औं शताब्दीमा समयको मागसँगै यातायात सेवालाई सहज र मर्यादित डिजिटल प्रविधिमै बनाउनका लागि एप्स सञ्चालनमा ल्याएको र यात्रुलाई अब गाडीको टिकट काट्नकै लागि बसपार्क पुग्नुपर्ने बाध्यता हटेको बताए ।
भिजिट कर्णाली यातायात प्रालिले आफ्नो सेवालाई स्तरीय र भरपर्दो सुरक्षित बनाउनलाई यो एप्सको सुरुवाती सँगै यात्रुहरूको लागि चाडपर्वहरू नजिकिँदै गर्दा बसपार्कमा यात्रुलाई गाडीमा जबरजस्ती, तानातान र दोहरो टिकट काट्ने परम्पराको अन्त्य हुने अध्यक्ष शाहीले बताएका छन् ।
अध्यक्ष शाहीका अनुसार यो एप्सलाई प्ले स्टोरमा गएर भिजिट कर्णाली यातायात सर्च गरेर डाउनलोड गर्न सकिने छ । उक्त यातायात प्रालिले स्थापनादेखि हालसम्म २३ जना वृद्धा र १५ जना अपाङ्गता भएकालाई ५० प्रतिशतमा छुट दिइसकेको छ । हाल भिजिट कर्णालीका ४६ वटा गाडी रहेका छन् ।
‘समृद्ध कर्णालीका लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ भन्ने मूल नाराका साथ भिजिट कर्णाली यातायात प्रा.लि.ले २०८० पुस २४ गतेबाट यातायात सेवा सञ्चालनमा ल्याएको थियो ।
सन्तोष भण्डारी । २०८१, १ आश्विन मंगलवार