सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै सुर्खेत महिला जेसीज 

सुर्खेत । सुर्खेत महिला जेसीज वर्ष २०२४ ले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । महिला जेसिजले यही असोज ५–१२ गतेसम्म विभिन्न सामाजिक कार्यमा केन्द्रित कार्यक्रम गर्ने  बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा क्षेत्रमा काम गर्दै आएको सुर्खेत महिला जेसीजले प्रत्येक वर्ष सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अनुरूप नै यो वर्ष विभिन्न सामाजिक कार्यमा केन्द्रित सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको सुर्खेत महिला जेसीज वर्ष २०२४ का अध्यक्ष मिना गुरुङले जानकारी दिइन् ।

अध्यक्ष गुरुङका अनुसार ‘महिला जेसीज सप्ताह २०२४’ असोज ५ गते उद्घाटन गरिने छ । उद्घाटन समारोहमा तुलसी स्मृति वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिने छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असोज ६ गते प्रशान्ति वृद्धाश्रममा भोजन, ७ गते आर्यघाट प्रतीक्षालय (भेरी) मा सरसफाइ र ८ गते प्रभावकारी भाषण कला तालिम सञ्चालन गरिनेछ । त्यस्तै कार्यक्रम अन्तर्गत ९ गते कानुनी साक्षरता, १० गते मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

सप्ताह अन्तर्गत ११ गते जेसीज सुर्खेतका सदस्य र परिवारको उपचारका लागि होप पोलिक्लिनिकसँग समझदारी पत्र हस्तान्तरण गरिने कार्यपालिका रहेको छ । असोज १२ गते समापन हुने कार्यक्रममा नारी सम्मान, पुरस्कार वितरणसमेत गरिने आयोजकले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया