सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चाडपर्व नजिकिएसँगै यातायात व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
हिन्दु धर्मावलम्बीको ठुला चार्ड दसैँ र तिहार नजिएसँगै मुख्यमन्त्री कँडेलले सुरक्षा निकायलाई नागरिकको यात्रालाई सहज बनाउन निर्देशन दिएका हुन् ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सुरक्षा निकायलाई सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
प्रदेशको सुरक्षा निकाय र ट्राफिक व्यवस्थापनका विषयमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग नागरिकको यात्रालाई सुरक्षित र सहज बनाउनुपर्नेमा जोड दिए ।
‘सुरक्षा चेकजाँचलाई थप सहज बनाउँदै आवश्यकताको आधारमा राजमार्गमा चेकजाँच गर्नुहोला । नागरिकलाई अनावश्यक दुख दिने काम नगर्न म साथीहरूलाई अनुरोध गर्दछु’ उनले भने ।
संयुक्त यातायात व्यवसायीको नाममा अझै पनि यातायात व्यवसायीले सिन्डिकेट कायम नै राखेको भन्दै मुख्यमन्त्री कँडेलले यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन व्यवसायीलाई आग्रह समेत गरे ।
‘तपाईँहरूका पनि आ—आफ्ना बाध्यता छन् होला तर, जति प्रतिस्पर्धी बन्नुहुन्छ नागरिकले त्यति नै सुविधा पाउँछन्,’ मुख्यमन्त्री कँडेलले भने, ‘नागरिकलाई सुविधा दिने दायित्व पनि तपाईँहरूकै हो । तसर्थ सिन्डिकेट नगर्न आग्रह छ ।’
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले चार्ड पर्वलाई लक्षित गरेर बजार क्षेत्रको पार्किङ व्यवस्थापन मिलाउन लागिएको बताइन् । उनले पछिल्लो समय सवारी चाप बढेसँगै बजार क्षेत्रमा देखिएको पार्किङ समस्याको नयाँ तरिकाले समाधान खोजिने जानकारी दिइन् ।
‘चाडपर्व नजिकिएसँगै बजारमा सवारी चाप बढ्दो छ । पार्किङ समस्या देखिएको छ । त्यो समस्यालाई नयाँ तरिकाले समाधान गर्नेतिर वीरेन्द्रनगर नगरपालिका केन्द्रित छ’ मेयर ढकालले भनिन् ।
कर्णालीमा चाडबाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकोले प्रदेश प्रहरी कार्यालयले नियमितसँगै चाडबाड लक्षित सडक सुरक्षा योजना बनाएको प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बताए ।
एक जना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नु पर्ने अवस्था रहेको सुरक्षा व्यवस्थापनमा समस्या भएको उनको भनाई छ । जनशक्ति र साधन श्रोतको अभावमा पनि प्रहरीले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरिरहेको भट्टको दाबी छ ।
सन्तोष भण्डारी । २०८१, ६ आश्विन आईतवार