सुर्खेतका व्यापारी आन्दोलित

सुर्खेत माघ २४ । सुर्खेतका व्यापारीहरुले बैंकहरु पञ्चायतकालीन सामन्ति जमिन्दार जस्ता भएको आरोप लगाएका छन । उतिबेलाका सामन्ति जमिन्दारहरुले ललाईफकाई जाली तमसुक गरेर ऋण दिने र पछि त्यहि जाली तमसुकका आधारमा झुक्याएर ऋणीको घरखेत कब्जा गर्ने जस्तै व्यवहार बैंकहरुले देखाएको उनीहरुको आरोप छ ।

बैंकहरुले एकपक्षीय रुपमा ब्याजदर बढाएको विरोधमा विहीबार वीरेन्द्रनगरमा भएको शान्तिपूर्ण विरोध र्यालीपछिको कोणसभामा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन ।

संघका अध्यक्ष धनबहादुर रावतले वार्षिक ३ अर्ब रुपैयाँसम्म मुनाफा कमाएको दाबी गर्ने बैंकहरुले व्यवसायीहरुको बाध्यताको नाजायज फाइदा उठाउन खोजेको टिप्पणी गर्नुभयो ।

बैंकहरुले आपसी सिण्डीकेट चलाएर व्यापारी व्यवसायीलाई टाट पल्टाउने गरी आपूmखुशी ब्याजदर निर्धारण गर्ने गर्दापनि राज्य मूकदर्शक बनेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

शुरुमा सस्तो ब्याजदरको आश्वासनमा ललाई फकाई ऋण लिन उक्साउने। उहाँले भन्नुभयो, घरघडेरी धितो राखेर ऋण लिएपछि ढाडै सेकिने गरी ब्याज बढाउनु कत्तिको न्यायसंग हो ?

एउटा ब्यापारीले दुई प्रतिशत मात्र फाइदा खाएर व्यापार गर्दा कालोबजारी गरेको देख्ने राज्यले बैंकहरुको सिण्डीकेट र कालोबजारी गरेको नदेख्नु वा नदेखेझैं गर्नु आश्चर्यजनक भएको उहाँको टिप्पणी छ ।

यस्तै संघका उद्योग उपाध्यक्ष गणेशकुमार वस्नेतले व्यापारीबाट चर्को ब्याज असुलेर आर्थिक समृद्धि नहुने भन्दै समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्नपनि निजी क्षेत्रको साथ र सहयोग चाहिने उल्लेख गर्नुभयो ।

निजी क्षेत्रले सहजतापूर्वक लगानी र व्यापार गर्नसक्ने अवस्था नभए कर्णाली प्रदेशजस्तो आर्थिक रुपले कमजोर प्रदेशमा आन्तरिक र वाह्य कुनैपनि किसिमका लगानी भित्रिन नसक्ने ठोकुवा गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैंकहरुको चर्को ब्याजको मारमा सबैभन्दा धेरै साना तथा मझौला व्यापारी र उद्योगी मारमा परेको भन्दै व्यापार व्यवसायबाटै पलायन हुनुपर्ने विकराल अवस्था सिर्जना हुन लागेको जिकिर गर्नुभयो ।

यस्तै संघका महासचिव लक्ष्मण कंडेलले बैंकहरुले व्यवसायिक ऋणको ब्याजदर घटाएर ७ प्रतिशतमा नझारे आप्mना पसल व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाएर पलायन हुने स्थिति आउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

ऋण लगानी गर्दा कम ब्याजदर देखाउने र घरखेत धितो राखेर ऋण लिएपछि ढाड सेकिने गरी ब्याज बढाउने कार्य बैंकहरुका लागि पनि प्रत्यूपादक हुने उहाँको चेतावनी छ ।

पहिलो चरणमा सांकेतिक रुपमा शालिन ढंगले शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जिकिर गर्दै उहाँले व्यापारीका मागको सुनुवाई नभए कठोर संघर्ष गर्ने घोषणापनि गर्नुभएको छ ।

चर्को ब्याजको विरोधमा संघले विहीबार कुनैपनि किसिमका बैंकिंग कारोवार नगर्न आह्वानसमेत गरेको छ ।

यसअघि ब्याजमा गरेर वृद्धि हुँदै आर्थिक समृद्धि, बैंक थरि थरि ब्याज मनपरिलगायतका नारासहितका प्लेकार्डसहित मंगलगढीबाट शान्तिपूर्ण विरोध र्यालीपनि निकालिएको थियो ।

मंगलगढीबाट मुख्यबजार, गणेशचौक, अस्पतालचौक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको र्यालीले प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत अर्थमन्त्रीलाई विरोधपत्रसमेत बुझाएको छ ।

तीन तहका सरकारले लगाएका करलाई परिस्थितिजन्य बाध्यता र आर्थिक समृद्धिको आवश्यक्ताका रुपमा लिएपनि बैंकहरुको चर्को ब्याजले व्यापार व्यवसाय चौपट हुने अवस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया