सुर्खेत । सुर्खेतमा भोलि वृहत् साङ्गीतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा वृहत् साङ्गीतिक कार्यक्रम हुने भएको हो ।
“नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना, पुस्तान्तरण लागि हाम्रो साझा अभियान” भन्ने मूल नाराका साथ कार्यक्रम कात्तिक २२ गते (भोलि) दिउँसो १ बजे वीरेन्द्रनगरमा रहेको सिटिहलको प्राङ्गणमा सञ्चालन हुन लागेको हो । बुधवार बिहान भएको पत्रकार सम्मेलन मार्फत दोहोरी गीत प्रतिष्ठान सुर्खेतका अध्यक्ष कविराज गिरीले बताए ।
यस्तै युवालयका सहयात्रा परियोजना संयोजक पूजा कार्कीका अनुसार परियोजनामा जोडिएर युवाहरूले लिएका कक्षामा सिकेका नृत्य तथा सङ्गीतहरू सबै सामु प्रस्तुत गर्न लागिएको हो ।
लोक संस्कृति जगेर्ना गर्ने भनी चलिरहेको यस परियोजनाबाट कक्षा लिइरहेका युवाहरूले मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्य प्रदर्शन गर्ने र सङ्गीतको कक्षामा सिकेका पञ्चेबाजा, झ्याली, कर्नाल, सहनाई, दमाहा) पनि बजाएर सबै सामु प्रस्तुत गर्ने तालिका रहेको उनले बताइन ।
यस कार्यक्रमबाट युवाहरूले सिकेका कलाहरू आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकुन् भन्ने हो ।
साथै, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न युवाको भूमिकालाई महत्त्वपूर्ण स्थान दिनका निम्ति कार्यक्रम आयोजना गरिएको र कोरियाको वाई.जी इन्टरटेन्टमेन्ट कम्पनीको आर्थिक सहयोग र अक्सफामले प्राविधिक सहयोग गरेको परियोजना संयोजक कार्कीले बताइन ।
सन्तोष भण्डारी । २०८१, २१ कार्तिक बुधबार