खच्चड फसेको झोलुङ्गे पुल समयमै नबन्दा स्थानीय जोखिममा

सुर्खेत । ६ महिना अघि खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन । स्थानीयवासी त्यही जोखिमपूर्ण अवस्थाको जीर्ण पुलमा आवतजावत गर्न बाध्य छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका-४ खिड्कीज्यूला जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा २७ जेठ २०८१ मा १४ वटा खच्चड अड्किएका थिए । उद्धारका क्रममा दुइवटाको मृत्यु भएको थियो ।

सो झोलुङ्गे पुलमा खच्चड फसेको खबर संसारभरी पुग्दा सरोकारवालाहरुले तत्काल उक्त पुल मर्मत गर्ने वाचा गरेका थिए । झण्डै दुई दशकअघि बनेको सो पुलको नियमित मर्मत नहुँदा जीर्ण बनेको थियो । त्यसपछि खच्चड फसेर झनै जीर्ण भएको सो झोलुङ्गे पुलको हालसम्म पनि मर्मत गर्न कसैको ध्यान नगएको खिड्कीज्यूलाका स्थानीयबासीले गुनासो गरेका छन् ।

पुल नजिकै रहेको कालेकाँडा स्वास्थ्य चौकीका इन्चार्ज अर्जुन बमले जीर्ण पुलको मर्मततिर सम्बन्धित निकायहरूले चासो नदिएको र अहिले पनि स्थानीयवासी जोखिम मोलेर आवतजावत गरिरहेको बताए ।

स्थानीयका भनाइमा, खिड्कीज्यूला नजिकै अर्को झोलुङ्गे पुल भएपनि त्यसको नजिकै मन्दिर रहेकोले सुत्केरी तथा छाउ (महिनावारी) भएकाहरु पनि त्यहाँबाट आवतजावत गर्दैनन् । त्यसैले खच्चड फसेको यो झोलुङ्गे पुल नै धेरैले प्रयोग गर्ने गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया