सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा महिला मैत्री सहरको डिजाइन प्रदर्शनीमा राखिएको छ । वीरेन्द्रनगर नगरपालिका र युएनओपीएसको साझेदारीमा कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर घण्टाघर अगाडि डिजाइन प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइनरहरूले डिजाइन गरेका सार्वजनिक खुल्ला क्षेत्रको डिजाइनहरू राखिएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले प्रदर्शनीको उद्घाटन गरेकी छिन् ।
नगर प्रमुख ढकाले वीरेन्द्रनगर नगरपालिकाले महिला मैत्री सहर निर्माणमा केन्द्रित रहेको बताइन् । ‘हामीले हाम्रा खुल्ला क्षेत्रमा निर्माण गर्ने संरचनाहरूलाई महिला मैत्री बनाउने छौँ,’ उनले भनिन्, ‘अहिले युएनओपीएसको सहयोगमा नगरका खालि क्षेत्रहरूमा विभिन्न डिजाइनहरू निर्माण गर्ने काम भइरहेको छ ।’
उनले युएनओपीएसको साझेदारीमा नगरका सार्वजनिक ठाउँहरूलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर साझेदार गरिरहेको बताइन् । उक्त प्रदर्शनीमा ग्रेटर घण्टाघरको समेत डिजाइन प्रदर्शन गरिएको छ । अव घण्टाघर परिसरमा थप व्यवस्थित रूपमा निर्माण गरिने नगरप्रमुख ढकालले बताइन् । उनले भनिन्, ‘वीरेन्द्रनगरलाई राजधानी केन्द्रित पूर्वाधारको विकास गदै व्यवस्थित सहर बनाउने परिकल्पना अनुसारको प्रदर्शनी गरेका छौँ ।’
बुधवार र बिहीबार दुई दिन गरिने उक्त प्रदर्शनीमा सहरी क्षेत्र योजनाका डिजाइनरहरू राखिने इन्जिनियर तथा अर्वन प्लानर सुगम गौतमले जानकारी दिए । उनका अनुसार उक्त प्रदर्शनी वीरेन्द्रनगर नगरपालिका, सुनवल, तानसेन, चन्द्रागिरि नगरपालिका र धनगढी उप–महानगरपालिकामा समेत गरिने छ ।
युरोपेली संघ (युरोपियन युनियन) र अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग निकाय (युएसएड)को संयुक्त वित्तीय सहयोगमा सञ्चालित उक्त परियोजनाले नगरपालिकाहरूमा जलवायु उत्थानशील सहरी विकास योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, लैङ्गिक मूल प्रवाहीकरण र समावेशिता, समावेशी सहरी खुला क्षेत्र निर्माण तथा व्यवस्थापनमा सघाउँदै आएको छ ।
साथै, जलवायु परिर्वतनर्मैत्री सार्वजनिक स्थलहरूको माग बढाउने र सहरीकरण योजना निर्माण क्षमताको अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
युएनओपियस, युएनह्याबिट्याट्, र सिटिज अलायन्स र फ्रेन्च एम्बेसीको सहयोगमा प्रर्दशनीमा सहयोग गरेको हो । यो परियोजना कार्यान्वयनका लागि स्थानीय निकायहरू र सहरी विकास मन्त्रालयले कार्यान्वयन भइरहेको आयोजकले जनाएको छ ।
सन्तोष भण्डारी । २०८१, ३ पुष बुधबार