नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रादेशिक सरुवा रोग अस्पताल सिङ्गो कर्णालीको केन्द्रमा बन्न सुरु भएको बताउँदै निर्माण सम्पन्न भएपछि सिङ्गो कर्णाली र छिमेकी प्रदेशका नागरिकहरूले सेवा पाउने बताए।
रणनीति रूपमा महत्त्वपूर्ण स्थानमा अस्पताल निर्माण भइरहेको भन्दे उनले अस्पतालका लागि आवश्यक बजेट छुटाइएको र समयमै सम्पन्न गर्नेतर्फ सबैले सहयोग गर्नु पर्नेमा जोड दिए।
खड्काले भेरी किनारका गुर्भाकोट, लेकवेशी र भेरीगंगालाई जोडेर आधुनिक सहरको मापदण्ड अनुसार गुरुयोजना निर्माणको काम भइरहेको बताए।
‘भेरी किनारमा आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य अनुसार भेरीगंगा उपत्यका आधुनिक सहर निर्माणका लागि गुरुयोजना निर्माण भइरहेको छ,’ उनले भने, ‘नदी किनारमा नेपालकै ठूलो आधुनिक सहर निर्माण गरेर भावी पुस्तालाई नासोका रूपमा हस्तान्तरण गरिनेछ।’
पूर्व उप प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले मगलबार सुर्खेतकाे भेरीगंगा नगरपालिका वडा नम्वर-१२ मा ५० शैय्याको कर्णाली प्रादेशिक सरूवा राेग अस्पतालकाे शिलान्यास गरेका हुन ।
सङ्घीय सहर विकास कार्यालयका प्रमुख कमलकुमार दर्लामीले ५० बेडको प्रादेशिक अस्पतालका लागि बजेट अभाव नभएकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।
दर्लामीका अनुसार ३१ करोड १५ लाख ४६ हजारमा अस्पताल भवन निर्माणको चक्रेश्वरी कुलेश्वर सिएलजेभीले ठेक्का पाएको छ। ४.९ हेक्टर जमिनमा फैलिने अस्पताल भवन २०८३ साउन १२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ।
राराखबर । २०८१, ३ पुष बुधबार