वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला बन्दै

सुर्खेत । वीरेन्द्रनगरमा प्रस्तावित इनडोर र आउटडोर सहितको क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधवार रङ्गशालाको शिलान्यास गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परियोजना मार्फत कार्यान्वयनमा आउने उक्त आयोजना अभियान कन्स्ट्रक्सन काठमाण्डौले निर्माण जिम्मा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण भागमा संरचना निर्माण गर्न लागिएको हो । यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुटाइएको छ ।

रङ्गशालाको शिलान्यास गर्दै मुख्यमन्त्री शर्माले कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर खेल पूर्वाधार निर्माण भइरहेको बताए । उनले खेलाडीलाई कर्णाली चिनाउन प्रतिस्पर्धा गर्न समेत आग्रह गरे । ‘तपाईँहरूले पुरस्कारका लागि चिन्ता गर्नु पर्दैन ।

प्रदेश सरकार तपाईँहरूको साथमा छ । कर्णालीलाई चिनाउन प्रतिस्पर्धा गर्न आग्रह गर्दछु’ मुख्यमन्त्री शर्माले भने ।

खेलाडीहरूले आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न समे मुख्यमन्त्री शर्माले अनुरोध गरे ।

प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर ल्याउन लागेको समेत उनले बताए । ‘समग्र खेल क्षेत्रको विकासका लागि  सरकार प्रतिवद्ध छ, खोलाडि साथीहरुपनि प्रतिबद्ध हुनुहोस्,’ उनले भने ।

चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिज निर्माण र इनडोर क्रिकेट हाल निर्माण हुने परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

उनका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको हो । त्यसका लागि क्रिकेटका लागि कालिन्चोक क्रिकेट मैदान तयारी भइरहे पनि दुई ओटा खेलकुद मैदान आवश्यक हुने भएकाले यस क्षेत्रमा पनि क्रिकेट मैदान बनाउन लागिएको सदस्य सचिव संज्यालले जानकारी दिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया