मदिरामुक्त वडा बनाउन नलगाड–४ लहँबासीको अठोट

माघ १ देखि पूर्ण निषेध गरिने

 टुकमाया घर्ती/ विष्णु रावल, लहँ जाजरकोट

जाजरकोट नलगाड नगरपालिका वडा नं. ४, लहँका बासिन्दाहरूले आफ्नो समाजलाई सभ्य र विकृतिमुक्त बनाउन एउटा ऐतिहासिक कदम चालेका छन्।

वडा सरकारको अगुवाइमा सोमबार भएको  बृहत् सर्वपक्षीय भेलाले आगामी २०८२ साल माघ १ गतेदेखि वडालाई पूर्ण रूपमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ।

निर्णयका मुख्य बुँदाहरू:

  • पूर्ण प्रतिबन्ध: माघ १ गतेदेखि वडाभित्र मदिरा उत्पादन, बिक्री-वितरण, ओसारपसार र आयात-निर्यातमा पूर्ण रोक लगाइनेछ।
  • सामाजिक चेतना: मदिरा सेवनलाई ‘अमोद-प्रमोद’ वा ‘स्वागत सत्कार’ को माध्यम बनाइनु हुँदैन भन्ने मान्यतालाई स्थापित गरिनेछ।
  • अनुगमन संयन्त्र: निर्णय कार्यान्वयनका लागि वडास्तरीय मूल समिति र प्रत्येक टोलमा उप-समितिहरू गठन गरिनेछ।
  • कानुनी आधार: नगरपालिकाको ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७६’ लाई कडाइका साथ पालना गरिनेछ ।

वडाध्यक्ष बद्री पन्तले यो निर्णय वडाको समग्र विकास र सामाजिक सुधारका लागि  भएको बताए ।

उनले भने, वडावासीको भावना र सामूहिक हस्ताक्षरसहितको यो अठोटलाई दृढताका साथ लागू गर्नेछौँ।

समाजका सबै क्षेत्रको ऐक्यबद्धता

भेलामा जिल्ला समन्वय समिति जाजरकोटका पूर्वसंयोजक मनबहादुर रावलले मदिराले स्वास्थ्य र धन दुवैको क्षति गर्ने बताउँदै यो अभियानलाई सार्थक बनाउन सबैलाई आग्रह गरे ।

यस्तै, पूर्ववडाध्यक्ष लक्ष्मीबहादुर रावल, काँग्रेसका सभापति हस्तबहादुर ‌ओली,  नेकपा एमालेका अध्यक्ष दिपबहादुर रावल, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष धनबहादुर रावल, भानुभक्त माविका पूर्व प्रधानाध्यापक भक्तबहादुर ओली, भानु भक्त माविका शिक्षक सुदाम गौगम लगायतले यस अभियानमा पूर्ण समर्थन जनाउनुभएको छ।

सहभागीता र प्रतिबद्धता

समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह र टोल विकास समितिका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको उक्त भेलाले मदिरा नियन्त्रणलाई केवल कानुनी विषय मात्र नभई सामाजिक जिम्मेवारीको रूपमा लिने सामूहिक अठोट गरेको छ।

मदिराका कारण समाजमा बढ्दै गएका विकृति र विसंगति न्यूनीकरण गर्न यो कदम कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ।

वडास्तरीय मूल समिति

१. श्री बद्री बहादुर पन्त — संयोजक  वडाध्यक्ष

२. श्री चन्द्रकला बस्नेत — सदस्य वडा

३. श्री शिव ब. ओली — सदस्य

४. श्री नानीकला कामी — सदस्य

 ५. श्री जगत ब. शाही (प्रहरी प्रतिनिधि) — सदस्य

  ६. श्री हस्त ब. ओली (ने.का. प्रतिनिधि) — सदस्य

७. श्री दीप ब. रावल (ने.क.पा. एमाले) — सदस्य

८. श्री धन ब. रावल (नेपाली कम्युनिष्ट पार्टी) — सदस्य

 ९. श्री दिनेश कुमार रावल (स्वास्थ्य प्रतिनिधि) — सदस्य

१०. श्री केशरी रावल (भाटिचौर आमा समूह) — सदस्य

११. श्री लक्ष्मी कुमारी रावल (एकता आमा समूह घ्वारा) — सदस्य

१२. श्री जानकी बटाला (भाटडाँडा आमा समूह) — सदस्य

१३. श्री तारा रावल (सिमा ‌औल आमा समूह) — सदस्य

१४. श्री हजारी परियार (ज्ञानोदय प्रा.वि. वाउसेखोला) — सदस्य

 १५. श्री किशोर कुमार शाही (श्री भानुभक्त मा.वि. लहँ) — सदस्य

१६. श्री पार्वती रावल (श्री भानुभक्त प्रा.वि.) — सदस्य

१७. श्री राममाया खड्का रावल (स्थानीय व्यवसायी) — सदस्य




फेसबुकबाट तपाईको प्रतिक्रिया