शिक्षक नियुक्तीमा आर्थिक चलखेल

indexसुर्खेत, असार २ ।
सुर्खेतको मटेला–३ मा रहेको मालिका उच्च माध्यामिक विद्यालयमा लेखा विषय आवश्यक भएपनि लेखाको ठाउँमा जनसंख्या विषयका व्यक्तिलाई नियुक्ति दिइएको छ ।
विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले आर्थिक चलखेलमा विषय परिवर्तन गरी जनसंख्या विषयका व्यक्तिलाई नियुक्ति दिएको अभिभावकले जनाएका छन् । गत २०७२ मंसिर १४ गते बसेको व्यवस्थापन समितिको बैठकको उच्च मावि तहमा अंग्रेजी र लेखा विषयमा शिक्षक राख्ने निर्णय गरेको थियो । त्यही अनुसार नै जिल्ला शिक्षा कार्यालय सुर्खेतको अनुमति पत्रअनुसार विज्ञापन प्रकाशित गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार विज्ञापन पनि खुलाएरको थियो । तर शिक्षक नियुक्त गर्दा भने विज्ञापन प्रकाशित भएअनुसार नभई अर्काे विषयका व्यक्तिलाई नियुक्ति दिएको छ ।
पहिलो बैठकको निर्णय गरेअनुसार प्रकाशित विज्ञापनका आधारमा परीक्षाको मिति पनि तोकेको र शिक्षक छनौट समिति समेत तयार गरिएको थियो । तर परीक्षाको मितिको एक दिन अगाडि पुनः विद्याय व्यवस्थापन समितिको बैठक बसी विषय नै परिवर्तन गरिएको जनाइएको छ । दोस्रो बैठकबाट विद्यालयमा आवश्यक भएको लेखा विषयलाई रद्द गरी त्यसको सट्टा व्यवस्थापन संकायमा अंग्रेजी र शिक्षा संकायमा जनसंख्या विषयमा विज्ञापन खोल्ने निर्णय गरिएको अभिभावकले बताएका छन् । आर्थिक चलखेल भएर विषय परिवर्तन गराई पुनः विज्ञापन प्रकाशित गरिएको अभिभावकको गुनासो छ । सोही निर्णय अनुसार अकसमात वीरेन्द्रनगरमा शिक्षक छनौट समितिले २०७३ बैशाख १६ गते परीक्षा लिएर शिक्षक नियुक्त गरिएको हो ।
गत बैशाख १७ गते वीरेन्द्रनगर कै एउटा होटेलमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी नियुक्ति दिइएको छ ।बैठकमा ८ जना सदस्य मध्ये चार जनाको उपस्थिति रहेको र महिला सदस्य मैसरा रानाको कृत्य हस्ताक्षर गरी बैठकको कोरम पु¥याइएको थियो । वीरेन्द्रनगरमा बसेको बैठकका विषयमा अन्य सदस्यहरुले आपत्ती जनाएपछि यो कुरा बाहिर आएको हो । यो बैठकले अंग्रेजीमा अमर सिंह ठकुरी र जनसंख्यामा कृष्णबहादुर जिसीलाई नियुक्ति दिएको छ । विद्यालयले सिंह र जिसीलाई विद्यालयमा नियुक्त गर्नका लागि पहिलेको विषय हटाएर नयाँ विज्ञापन प्रकाशित गरेको थियो । पहिलेको विज्ञापन अनुसार परीक्षा लिइएको भए दुवै योग्यता नपुग्ने स्थानीयको भनाई छ ।

सुर्खेतवाट पकाशित हुने हाम्रो नयाँ नेपाल दैनिक पत्रिकावाट साभार ।




फेसबुकबाट तपाईको प्रतिक्रिया