जनताका प्रिय डाक्टर


स्वदेश वा विदेशमा पढेर डाक्टर भएकाहरु सकेसम्म दुर्गम क्षेत्रमा गएर काम गर्न मान्दैनन् त्यसै भएर दुर्गम क्षेत्रका धेरै अस्पतालहरु दरवन्दी भएर पनि डाक्टरविहीन हुने गरेका छन । तर सुर्खेतमा जन्मे हुर्केका डा.नवराज केसीले भने फिलिपिन्सवाट एमडी गरेपछि जन्म थलोलाई नै आफनो कर्मथलो बनाउनु भयो । मध्य तथा सुदुर पश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिदै आएको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा कार्यरत वालरोग विशेषज्ञ डा. केसीले चाहेको भए स्वदेश वा विदेशका जुनसुकै अस्पतालमा सजिलै काम पाउनु हुन्थ्यो । तर उहाँले त्यसो गर्नु भएन, विदेशमा पढेपनि आफ्नै जन्मभुमिलाई सेवा गर्ने अठोट गर्नुभयो ।

वुवाको सपना पुरा गर्न डाक्टर
डेढ वर्षदेखि क्षेत्रीय अस्पतालमा कार्यरत डा. केसी छोटो समयमै जनताको प्रिय डाक्टर वन्न सफल हुनु भएको छ । नागरिकको नजरमा असल डाक्टरको छवि वनाउन सफल उहाँ धन सम्पतिलाई भन्दा बढ्दा महत्व समाज सेवालाई दिनुहुन्छ । डा. केसीले सानो छँदा संगीतकार बन्ने सपना देख्नु भएको थियो । तर उहाँको त्यो सपना साकार भएन । किनकी उहाँ आफनो सपना त्यागेर वुवाको सपनालाई अंगाल्न पुग्नु भयो । भनिन्छ कहिले काही आफनो लागि भन्दा पनि अरुकै वाँच्नु पर्छ । डा. केसीको जीवनमा पनि यो लागु भयो । उहाँ वुवाले देख्नु भएको सपना पुरा गर्न डाक्टर पढनु भयो । डाक्टर बन्ने मेरो लक्ष्य नै थिएन । मलाई डाक्टर बनाएर गरिव जनताको सेवा गर्ने वुवाको सपना थियो । त्यही सपना पुरा गर्न संगीतकार नभई डाक्टर भए । डाक्टर भएपछि एउटा एल्वम निकाले । थोरै भएपनि अधुरो संगीतको यात्रालाई पुरा गरे उहाँले भन्नुभयो ।
सुकेको रुखको पातमा हरियो कलर
अहिले एमडीको अध्ययन पुरा गरेको २ बर्ष भयो । एमविविएसको पढाई पुरा गरेपछि उहाँले ६ महिना काठमाडौ विश्वविद्यालयमा पढाउनु पनि भयो । त्यसपछि ३ वर्ष नेपाल अपाग अस्पताल काठमाडौमा काम गर्नुभयो । डेढ वर्षदेखि क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डा. केसी नेपालको स्वास्थ्य क्षेत्र सही मार्गमा नहिडेको अनुभव सुनाउनु हुन्छ । स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो छ उहाँले भन्नुभयो अहिले परिणाममुखी भन्दा पनि स्वास्थ्य क्षेत्रमा देखावटी काम बढी भएका छन । स्वास्थ्य क्षेत्र सही ट्रयाकमा छैन । अहिले सुकेको रुखको पातमा हरियो कलर गर्ने काम मात्र भएको छ । जरामा पानी हाल्ने काम भएको छैन । सुकेको रुखको पातमा हरियो कलर गर्ने हैन । स्वास्थ्य क्षेत्रलाई सही बाटोमा ल्याउन जरामा पानी हाल्नुपर्छ । देखावटी कामले गर्दा सही परिणाम आएको छैन । जसले गर्दा नेपालको स्वास्थ्य क्षेत्र विगतमा जहाँ थियो त्यो भन्दा खासै अघि बढन सकेको छैन । परिवर्तन भएको छैन । जनताले परिवर्तनको अनुभुति गरेका छैनन् । यो परिवर्तनको अनुभुति गर्ने खालको हुनुपर्छ ।
गुणात्मक बर्गिकरण अवश्यक
स्वास्थ्य क्षेत्र सुधारको लागि डा. केसीसँग आफनै खालको रोडम्याप छ । उहाँ भन्नुहुन्छ पहिलो कुरा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको लागि सवै सरकारी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्छ । त्यसो गर्दा नीजि भन्दा सरकारी अस्पतालप्रति जनता आर्कषित हुन्छन । दोस्रो कुरा स्वास्थ्य क्षेत्रमा हुने गरेको भष्ट्राचारलाई निर्मुल गर्नुपर्छ ।े प्रशासनमा वस्नेलाई तलदेखि माथीसम्म स्केन गर्नु जरुरी छ । स्केन गरियो भने मात्र प्रशासनमा बस्नेहरु सुध्रिन्छन अनि भष्ट्राचार रोकिन्छ ।
तेस्रो कुरा स्वास्थ्य क्षेत्रमा बजेट बढाउनु पर्छ । अहिलेको बजेटले पुग्दैन । सरकारले स्वास्थ्य क्षेत्रमा प्रयाप्त लगानी गर्नुपर्छ । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रलाई सरकारले वेवास्था गर्न मिल्दैन । यस्तै ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था पनि अव राज्यले गर्नुपर्छ । सगसगै उनीहरुले पनि आफु आफनो जीवन कालमा कमाएको मध्ये सर्टेन प्रतिशत राज्यलाई दिनुपर्छ । ताकि बुढेस कालमा राज्यले सहयोग गरोस ।
चौथो कुरा अस्पतालहरुको गुणात्मक वर्गिकरण गर्नुपर्छ । अहिलेजस्तो अन्चल अस्पतालमा धेरै बजेट आउने, धेरै दरवन्दी हुने, तर क्षेत्रीय अस्पतालमा थोरै रकम आउने, थोरै दरवन्दी हुने हुनुु हुदैन । वर्गिकरणले अस्पतालको गुणस्तरमा सुधार आउँछ । पाचौ कुरा सरकारले तोकेको ठाउँमा मात्र नीजि अस्पताल खोल्ने व्यवस्था गर्नुपर्छ । अहिले नीजि अस्पतालहरु सहरी क्षेत्रमा केन्द्रित छन । गाउँमा पनि यसलाई विस्तार गर्नुपर्छ । नीजि अस्पताल पनि सरकारी मातहतमा हुनुपर्छ । लोकप्रिय खालको भन्दा पनि बास्तविकतामा आधारित स्वास्थ्य नीति तथा कार्यक्रम ल्याउनु पर्छ ।
आम्दानी विपन्न बालवालिकाको उपचारमा खर्च

वालवालिकको उपचार भनेपछि हुरुकै हुने डा. नवराज केसीले उपचारको अभावमा अलपत्रमा परेका वालवालिकाको खोजी खोजी उपचार गदै आउनु भएको छ । क्षेत्रीय अस्पतालमा आएको डेढ वर्षको अवधिमा उहाँले वालवालिकाको लागि २० वटा भन्दा बढी निशुल्क स्वास्थ्य शिविर संचालन गर्नु भएको छ । आफनै लगानीमा विभिन्न ठाउँमा भएका शिविरमा थुप्रै वालवालिकाले निशुल्क उपचार पाएका छन । आफनै खर्चमा उहाँले अहिलेसम्म १५ जना भन्दा बढी वालवालिकाको उपचार गर्नु भएको छ । आफैले रकम दिएर उनीहरुलाई काठमाडौ, चितवन लगायतका ठाउँमा पठाउनु भएको छ । आर्थिक रुपमा सम्पन्न पारिवारिक पृष्ठभूमि भएका डा. केसीले हरेक महिना आफनो कमाईको २५ देखि ५० प्रतिशत रकम विपन्न आर्थिक अवस्था भएका बालवालिकाको उपचारमा खर्च गदै आउनु भएको छ ।
बच्चा हेर्दा थकाई नै लाग्दैन
दैनिक २ सय बच्चाको चेकजाँच गदै आउनु भएका डा. केसी भन्नुहुन्छ बच्चा हेर्दा मलाई कहिल्यै थकाई लाग्दैन । बच्चाको उपचार गर्दा निकै आनन्द महशुस गर्छु । आफुले उपचार गरेको बालवालिका निको हुँदा निकै खुशी लाग्छ । यस क्षेत्रका अधिकाश वालवालिकामा सरसफाईको कारणले गर्दा हुने रोगको समस्या देखिएको छ । त्यसपछि कुपोषणको समस्या बढी । डाक्टरा पढाई सकेपछि घुम्नको लागि क्षेत्रीय अस्पताल गएको थिए । त्यतिवेला अस्पतालको अवस्था एकदमै नाजुक थियो । बालरोग विशेषज्ञ थिएनन् । अस्पतालको दुरावस्था देखिपछि आफनै जिल्लामा बस्ने निर्णयमा पुगे । गाउँका दुर्गम गाउँबाट आउने विपन्न जनताको उपचार गर्ने अवसर प्राप्त हुने भएकोले क्षेत्रीय अस्पतालमै काम गर्ने इच्छा पलायो । चाहेको भए स्वदेश वा विदेशका सुविधा सम्पन्न अस्पतालमा काम गर्न सक्थे । तर त्यस्तो गरिन । आफु जन्मे हुर्केको ठाउँलाई माया गरेर नै धेरै कमाउन सक्ने अस्पतालहरुलाई छाडेर क्षेत्रीय अस्पताललाई नै कर्मथलो बताए उहाँले भन्नुभयो ।
अस्पतालको वातावरणले वालरोग विशेषज्ञ


अत्यन्त्रै शालिन स्वभावका डा. केसीले २०५५ सालमा एसओएस हर्मन माइनर विद्यालयवाट एसएलसी पास गर्नु भएको थियो । ललितपुरको निस्ट कलेजवाट आइएसी गरेपछि उहाँको डाक्टर पढने यात्रा सुरु भएको थियो । उहाँले ५० प्रतिशत क्षेत्रीय छात्रबृत्तिवाट नेपालगंजवाट एमबीवीएस गर्नुभयो । पढाईमा अव्वल डा. केसीले फिलिपिन्स सरकारको छात्रबृत्तिमा नेश्नल चिल्ड्रेन अस्पताल फिलिपिन्सवाट एमडी गर्नुभयो । वालरोग विशेषज्ञ वन्नुको रहस्य खोल्दै डा. केसी भन्नुहुन्छ हड्डी रोग सम्वन्धी पढने लक्ष्य थियो तर अस्पतालको वातावरणले वालरोग विशेषज्ञ वन्न प्रेरित गर्यो ।
इमानदारिता भन्दा ठुलो केही छैन
सानैदेखि तृष्णा बुद्धिका उहाँले पढाईमा कसैलाई उछिन्न दिनु भएन । कक्षामा सधै प्रथम नै हुनुभयो । जिल्ला स्तरीय परिक्षामा पनि सधै जिल्ला प्रथम नै हुनुहुन्थ्यो । तर कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा भने एउटा गल्तीले गर्दा उहाँ प्रथम पुरस्कार लिनवाट बञ्चित हुनु भएको थियो । अंग्रेजी वाहेक अरु सवै विषयमा ८०÷९० अंक आएको थियो । तर अंगेजीमा भने ३३ मात्रै । विश्वास लागेन । वुवालाई भने, बुवा त्यतिवेला केन्द्राध्यक्ष हुनुहुन्थ्यो । मेरो यति नम्वर हैन । धेरै आउनु पर्ने हो । कसरी मिस्टेक भयो । फेरी हेर्नु परयो भनेर उहाँले अनुरोध गर्नुभयो । तर वुवा नेत्रबहादुर खत्रीले मान्नु भएन । प्रक्रियाबाट आउनु पर्छ भन्नु भयो । पछि प्रक्रियावाट आएपछि धेरै नम्वर आयो । तर पुरस्कार भने अर्केले पायो । यही सानो गल्तीले प्रथम हुँदाहुदै पनि पुरस्कार पाउँन सकिन । त्यतिवेला विशेष कार्यक्रम गरेर क्षेत्रीय शिक्षा निर्देशक, जिल्ला शिक्षा अधिकारी लगायत ठुलै ओहदामा बसेका व्यक्तिवाट पुरस्कार लिने चलन थियो । वुवाले भनेको कुराको स्मरण गदै डा. केसी भन्नुहुन्छ मानदारिता नै ठुलो कुरा हो । इमानदार हुनुपर्छ । चाहेको भए उतिवेलै वुवाले मलाई प्रथम बनाउन सक्नु हुन्थ्यो । तर प्रक्रियावाट जादा ढिला भयो । अनि पुरस्कार फुत्कियो । यो वाट मैले नयाँ कुरा थाहाँ पाए, इमानदारिता भन्दा ठुलो अर्को कुरा छैन ।
समाज नै हाम्रो सम्पति
३५ वर्षे डा. केसीले जीवनमा धेरै तितामिठा अनुभूति संलाग्नु भएको छ । उहाँ भन्नुहुन्छ हामी छोटो समयका यात्री है । छोटो समयको लागि मात्र पृथ्वीमा आएका छौ । त्यसैले बढी भन्दा बढी सुन्दर काम गर्नुपर्छ । धन, सम्पति हाम्रो सम्पति हैन । समाज नै हाम्रो सम्पति हो । हाम्रो गहना हो । त्यसैले धेरै लोभ नगरौ । कसरी देश समाज बदल्न सकिन्छ त्यता तिर सोचौ । हामी विकासशिल देशका नागरिक हौ । त्यसैले देश कसरी बनाउने त्यतातिर लागौ । आफनो स्वभाव नबदले सम्म भावि पुस्ताको पनि सोच बदलिदैन ।
एपिजे अव्दुल कलामवाट प्रभावित


डा. केसी भारतका पुर्व राष्ट्रपति डा. एपिजे अव्दुल कलामवाट निकै प्रभावित हुनुहुन्छ । डाक्टर अध्ययनको सिलसिलामा उहाँले कलामको क्लास लिने अवसर पाउनु भयो । कलामको कुरा सुनेपछि उहाँले जीवनलाई पुरै परिवर्तन गर्नुभयो । रिटायर लाइफ भने कि संगीतकार कि त किसान भएर जीउने उहाँको इच्छा छ । आहिले आफनो मासिक कमाईको ५० प्रतिशतसम्म रकम गरिव तथा असहायको लागि खर्च गदै आउनु भएका उहाँ निकट भविस्यमा भने मासिक कमाईको सवै रकम नै समाजिक काममा खर्चिने भित्री योजनामा समेत हुनुहुन्छ ।
बालबालिका र महिलाको अस्पताल, अपागको लागि विद्यालय
सरल स्वभावका धनी डा. नवराज केसी निकट भविस्यमै बालबालिका र महिलाको लागि विशेषज्ञ सेवासहितको अस्पताल बनाउने योजनामा हुनुहुन्छ । यो अस्पतालले महिला तथा बालवालिकालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनेछ । उहाँको अर्को याजना पनि छ । त्यो अपागता भएका वालवालिकालाई पढनको लागि विद्यालय खोल्न । यि दुई काम छिटटै गर्ने सोच उहाँको छ । स्वास्थ्य सेवामा होस वा अन्य क्षेत्रमा कुनै पनि क्षेत्रमा आउन चाहाने युवाहरुलाई उहाँ आफनो रुची अनुसार आउन सुझाव दिनुहुन्छ । कसैको करबलमा हैन, आफनो रुची अनुसारको क्षेत्र समाप्नु होस । अनि मात्र सफल भइन्छ ।
नयाँ पिढीले आफनो बाटो आफै कोर्नु पर्छ, स्कोप आफै बन्छ उहाँ भन्नुहुन्छ । लोकप्रिय छवि भएका डा. केसीले सुर्खेतमा बाल अस्पताल समेत संचालन गदै आउनु भएको छ । यो अस्पतालले शारीरिक रुपमा असक्त वालवालिकाको निशुल्क उपचार गदै आएको छ । सधै भरी बालवालिकाको उपचारमा तल्लिन रहने उहाँलाई जनताले निकै भरोसा गदै आएका छन ।

(पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित)




फेसबुकबाट तपाईको प्रतिक्रिया