बीमा जोखिम न्यूनिकरण गर्ने महत्वपूर्ण वित्तीय अंग- मन्त्री केसी

दिपेन्द्र शर्मा
सुर्खेत – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले  बीमा जोखिम न्यूनिकरण गर्ने महत्वपूर्ण वित्तीय अंग भएको बताउँदै यसको पहुँच दुरदराजका क्षेत्रहरूमा पुर्याउनु पर्ने आवश्यकता औल्याए ।
नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले ५६ औं वार्षिकोत्सवमा  उनले बीमामा आम नागरिकहरूलाई समेट्नका लागि बीमा सम्बन्धी नीतिगत सुधार र प्रक्रियागत सुधार हुनुपर्नेमा जोड दिएका हुन ।
बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री केसीले प्रदेश सरकारबाट अगाडि बढाइएका बीमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
मध्यश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुवकुमार गौतमले बीमा भविष्यको जोखिम बहन गर्ने र भविष्यका समस्या समाधानका लागि समर्पित क्षेत्र भएकोले विश्वविद्यालयले स्थानीय,प्रादेशिक,केन्द्रीय तथा देशैभरको आवश्यकता अनुरुपका पाठ्यक्रमहरु निर्माण गर्दै बजारमा माग अनुसारको जनशक्ति उत्पादन गर्नेमा जोड दिए ।
 बैंकर्स एसोशियसन कर्णाली प्रदेशका अध्यक्ष डा. सुरज टण्डनले बीमा बित्तीय क्षेत्रको ऐना भएको बताउँदै यस क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीमा ३७ हजार १ सय ९६ उद्यमीहरू भएको र जसमध्ये ४ प्रतिशत उद्यमीलाई मात्र बीमामा समेट्न सकिएको भन्दै यसप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराए ।
उनले गाडी चल्ने ठाउँमा वा राजधानीमा मात्रै बीमाको पहुँच रहेको भन्दै कर्णालीका प्रत्येक पालिका र वडाहरुमा बीमा बिस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सभाध्यक्ष गर्दै प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले समग्र बीमित, बीमक, सर्भेयर ,अधिकर्ता, बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुमा आभार व्यक्त गरे ।
वार्षिकोत्वसकै अवसरमा निबन्ध प्रतियोगिता, फुटसल प्रतियोगिता, स्लो बाइक,स्कुटी रेस प्रतियोगिता गरेको प्राधिकरणले बिजेता खेलाडीहरुलाई मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरेको छ ।
वार्षिकोत्वसकै अबसरमा प्राधिकरणले वैशाख ३१ गते गरेको बृहत रक्तदान कार्यक्रम ४१ पिन्ट रगत संकलन भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया