विपन्न बस्तीका बालबालिकालाई बालरोग विशेषज्ञ डाक्टरको निःशुल्क सेवा

सुर्खेत, १९ माघ ।
एउटा विशेषज्ञ डाक्टर विदाको दिनमा आफ्नो क्लिनिकमा पैसा कमाउन विरामी जाँच नगरी विपन्न समुदायका बालबालिकालाई निःशुल्क उपचार गर्न गाउँगाउँ पुग्दा अनौठो लाग्दो हो । तर सुर्खेतमा भने एक विशेषज्ञ डाक्टर विदाको दिनमा क्लिनिकमा उपचार नगरी विपन्न गाउँ खोज्दै बालबलिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गराइरहनुभएको छ । आफूमात्र होइन, आफ्नो स्वास्थ्यकर्मीसहितको टोली गाउँ पुगेर निःशुल्क सेवा दिनुभएको छ ।
मप क्षेत्रीय अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले आफनो विंग्स फाउण्डेशनमार्फत गत पुस २२ गतेदेखि न्यानो सुर्खेत अभियान संचालन गरी सुर्खेतका विभिन्न विपन्न समुदायमा पुगेर त्यहाँका बालबालिकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिइरहनुभएको छ । पुस २२ गतेदेखि प्रत्येक शनिवार आफ्नो क्लिनिकमा विरामी जाँच नगरी गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर उपचार सेवा उहाँले दिनुभएको छ । अहिलेसम्म सो अभियानबाट सयौं बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।


न्यानो सुर्खेत अभियानमा विरामी बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच मात्र होइन न्यानो कपडा र स्टेशनरी सामग्री पनि प्रदान गरिन्छ । महिला तथा बालबालिका कार्यालयको नीतिभित्र रही अति विपन्न, आमा बाबु नभएका बालबालिकाहरुलाई स्टेशनरी प्रदान गरिने विंग्स फाउण्डेशनका सचिव किरण बस्नेतले बताउनुभयो । उक्त अभियानबाट अहिले वराहताल गाउँपालिकाको अतिविपन्न समुदायको बसोबास रहेको वडा नं. १, २, ३, ४, ९ र १० मा स्वास्थ्य शिविर र स्टेशनरी वितरण गरिसकिएको उहाँले जनाउनुभयो । अव आगामी शनिवार पूर्वी सुर्खेतको गुर्भाकोट र लेकबेसी नगरपालिकाका विपन्न समुदायमा सो अभियान सुरु हुने तयारी भएको उहाँको भनाइ छ ।
विंग्स फाउण्डेशनका अध्यक्ष डा. नवराज केसीले अति विपन्न बालबालिका र त्यसमा पनि अपांगता भएका बालबालिकाहरुको लागि आफूले फाउण्डेशनको स्थापना गरेको बताउनुभयो । फाउण्डेशनको महत्वकांक्षी योजना सुर्खेतमा अपांगता बालबालिकाहरुका लागि पुनस्र्थापना केन्द्र खोल्ने रहेको भन्दै उहाँले अहिले न्यानो सुर्खेत अभियानबाट अति विपन्न बालबालिकाहरुलाई चिसोबाट बचाउन लागिएको उल्लेख गर्नुभयो । डा. केसीले प्रत्येक १० बच्चाहरुमध्ये एउटा अपांग बच्चा जन्मने र प्रत्येक दुई अपांग बच्चामध्ये एउटाले कहिल्यैपनि उपचार नपाउने भएको हुँदा आफूले अपांगता भएका बालबालिकाहरुको लागि फाउण्डेशनमार्फत केही काम गर्न खोजेको प्रष्ट्याउनुभयो । न्यानो अभियानमार्फत केही समुदायहरुमा पुग्दा अहिलेसम्म १२८ अपांग बालबलिकाहरु सम्पर्कमा आएको जानकारी उहाँले दिनुभयो । अपांगतासम्वन्धी जिल्लामा काम गर्ने थुप्रै सरकारी र गैरसरकारी संस्थाहरु भएकोले उपलव्धी नदिएको भन्दै डा. केसीले अव सवै एक भएर काम गरेर अपांग बालबालिकाहरुको लागि देखिने काम गर्न सकिने उल्लेख गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया