सुर्खेत, १० असोज ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका –१ ढोडेखालीमा आधुनिक सुविधायुक्त खसीवोका मिनी बधस्थल संचालनमा आएको छ ।
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको मिनी बधस्थल बुधवारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । ४० लाख रुपैयाको लागतमा निर्माण भएको बधस्थलको आयोजनाले १७ लाख रुपैया अनुदान सहयोग गरेको छ भने वाकी खर्च जेवी मिट एण्ड सेल्स गरेको थियो । 
चारवटा कोठाहरु रहेको बधस्थलमा बध गर्ने, मासु छुट्याउने, चिस्यान गरी राख्ने र विक्री कक्ष राखिएको छ । मासु विक्रीको लागि बीरेन्द्रनगर बजारको जुम्ला सडकमा मासु पसल राखिएको सेल्सका संचालक जनकबहादुर थापाले बताउँनु भयो । बधस्थल संचालन भएपछि उपभोक्ताहरुले स्वच्छ र सफा मासु उपभोग गर्ने आयोजनाका पशु सेवा विज्ञ दामोदर न्यौपाने उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय मासु उत्पादन र आयोजनाले सहयोग गरी उत्पादन भएका खसीबोकाको विक्री वितरणमा सहजता ल्याउनको लागि बधस्थल निर्माणको लागि सहयोग गरेको पनि जानकारी दिनुभयो ।

आधुनिक सुविधायुक्त मिनी बधस्थलामा अहिले दैनिक पाँच वटासम्म खसी बध गर्ने गरिएको छ भने दैनिक पाँचवटा जीवित खसी समेत विक्री गरिदै आएको छ । बधस्थलले पत्यक्ष रुपमा छ जनालाई रोजगारी समेत दिएको छ ।
यसैवीच मिनी बधस्थलको बुधबार एक कार्यक्रमको वीच औपचारिक रुपमा संचालनमा ल्याइएको छ । वर्षदिन लगाएर निर्माण गरिएको बधस्थलको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले उद्घाटन गदै बधस्थलबाट उत्पादन हुने मासुको गुणस्तरीयतामा ध्यान दिन संचालकलाई सुझाव दिनुभयो । उहाँले बधस्थल संचालनसँग उपभोक्ताले स्वच्छ मासु उपभोग गर्ने विस्वास पनि व्यक्त गर्नुभयो ।

पशु तथा पंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डाक्टर कृष्णराज पाण्डेले बधस्थलमा बधगर्नु अघि र बध गरीसकेपछि मासुको जाँच गरी बजारमा पुर्याउन सकेमात्र मासुको गुणस्तरीयता काम हुने बताउँनु भयो ।
यस्तै वडाध्यक्ष गंगाराम सुनारले बधस्थल निर्माणमा सहयोग गरेकोमा आयोजनालाई धन्यवाद दिदै यसको संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका पशु पंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख सुमिन्द्र यादव, कृषि तथा पशुपंक्षी मन्त्रालयका उपसचिव शिरिष पुन, सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावत, पशु अस्पताल तथा ज्ञान केन्द्र सुर्खेतका प्रमुख उत्तम थापाल लगायतले आफनो भनाई राख्नु भएको थियो ।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी सम्मानित हुनु भएको छ । आफ्नो वडामा मिनी बधस्थल निर्माण गरी उपभोक्तालाई गुणस्तरीय मासु उपभोग गर्न सहयोग गरेको भन्दै बीरेन्द्रनगर नगरपालिका वडा न १ ले उहाँलाई सम्मान गरेको हो । वडाध्यक्ष गंगाराम सुनारसहितका जनप्रतिनिधीले आयोजना प्रमुख भारीलाई कदरपत्र प्रदान गरेर सम्मान गर्नु भएको हो ।
राराखबर । २०७५, १० आश्विन बुधबार